उद्धार तथा राहतका लागि विभिन्न संयन्त्र परिचालन गर्न निर्देशन
काठमाडौं । रसुवामा आएको बाढीपछि सरकारले उद्धार तथा राहतका लागि सुरक्षा निकायसहित राज्यका विभिन्न संयन्त्रलाई परिचालन गरेको छ।
प्रधानमन्त्री बालेन शाहले रसुवा बाढीको अवस्थाबारे जानकारी दिँदै नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरीलाई उद्धार तथा राहत कार्यमा परिचालन गरिएको बताएका छन्। उनका अनुसार अन्य जिल्लाबाट समेत थप जनशक्ति प्रभावित क्षेत्रतर्फ पठाइसकिएको छ।
विपद् व्यवस्थापन प्राधिकरणलाई सक्रिय बनाउँदै मेडिकल टोली, नेपाल स्काउट तथा रेडक्रसलगायतका संस्थासँग समन्वय गरी आवश्यक कदम चाल्न निर्देशन दिइएको छ। प्रभावित क्षेत्रमा थप एम्बुलेन्स तथा मेडिकल जनशक्ति पठाउने प्रक्रिया पनि अघि बढाइएको उनले बताएका छन्।
प्रतिनिधिसभाको संक्षिप्त बैठक बस्ने तयारी
यसैबीच प्रतिनिधिसभाको संक्षिप्त बैठक बस्ने तयारी भएको छ । रसुवामा गएको बाढीका कारण आजको बैठकमा रहेका कार्यसूची हटाएर आकस्मिक समय मात्रै राख्ने गरी बैठक राख्न लागिएको हो ।
बुधबार दिउँसो १ बजेका लागि बोलाइएको बैठकमा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर लगायतका कार्यक्रम छ । प्रश्नोत्तर कार्यक्रम स्थगित गर्ने र अन्य कार्यसूची पनि अगाडि नबढाउने गरी छलफल भइरहेको हो ।
