भोटेकोशी बाढी : उद्धारकार्यमा जुट्न गगन र रविको अपिल
काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले रसुवामा आएको आकस्मिक ठूलो बाढीका कारण स्थिति गम्भीर र चिन्ताजनक बनेको भन्दै तल्लो तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरेका छन्।
आज बुधबार एक अपिल जारी गर्दै थापाले भोटेकोसी र त्रिशूली नदीको तल्लो तटीय तथा आसपासका क्षेत्रमा बसोबास गर्ने नागरिकलाई सुरक्षित रहन आग्रह गरेका हुन्। उनले विपद्को अवस्थामा राज्यका सम्पूर्ण संयन्त्र परिचालन गरी सबै तहका सरकारसँग समन्वय गरेर उद्धार तथा राहतमा केन्द्रित हुन सरकारलाई अनुरोध गरेका छन्।
उद्धारमा जुट्न रविको अपिल
यसैबीच राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले रसुवामा आएको बाढीपछि उत्पन्न विपद्को अवस्थामा नागरिकको जीवनरक्षा र उद्धारलाई पहिलो प्राथमिकतामा राख्न आग्रह गरेका छन्।
आज बुधबार बिहान रसुवामा आएको बाढीपछि सामाजिक सञ्जालमार्फत उनले पार्टीका नेता, सदस्य र शुभेच्छुकलाई संयमित तथा जिम्मेवार ढंगले अघि बढ्न आह्वान गरेका हुन्।
लामिछानेले बाढी तथा विपद्को जोखिममा रहेका नागरिकलाई सुरक्षित स्थानमा जान, जोखिमपूर्ण क्षेत्रमा नबस्न र स्थानीय प्रशासन तथा सुरक्षा निकायका निर्देशन पूर्ण रूपमा पालना गर्न अनुरोध गरेका छन्।
