रसुवाको भोटेकोशीमा आकस्मिक बाढी : टिमुरे बजारमा ठूलो क्षति
काठमाडौं । रसुवा जिल्लाको टिमुरे बजारमा बुधबार बिहान भोटेकोशीमा आएको आकस्मिक बाढीले ठूलो क्षति पुर्याएको छ। आज बिहान करिब ९ बजे आएको बाढीले बजार क्षेत्रका बस्तीमा ठूलो क्षति पुगेको प्रहरीले जनाएको छ।
बागमती प्रदेश प्रहरी कार्यालयका डीआईजी दीपक रेग्मीका अनुसार बाढीले टिमुरे बजारका धेरै घर बगाएको प्रारम्भिक सूचना प्राप्त भएको छ। उनका अनुसार बजारमा ५–७ वटा घर मात्र बाँकी रहेको सूचना आएको छ। यद्यपि, क्षतिको यकिन विवरण भने आउन बाँकी छ।
बाढीका कारण इलाका प्रहरी कार्यालय टिमुरेमा समेत क्षति पुगेको आशंका गरिएको छ। कार्यालयमा कार्यरत १५ जना प्रहरीमध्ये हालसम्म ८ जना मात्रै सम्पर्कमा आएका छन्। बाँकी प्रहरीको अवस्थाबारे जानकारी लिने प्रयास भइरहेको डीआईजी रेग्मीले बताए।
यसैबीच, बाढी पूर्वानुमान महाशाखाले पनि उच्च सतर्कता अपनाउन आग्रह गरेको छ। महाशाखाका अनुसार रसुवाको भोटेकोसी नदीमा तिब्बततर्फबाट ठूलो बाढी प्रवेश गरेको छ। महाशाखाले अर्को सूचना नआएसम्म त्रिशूली नदीको तटीय क्षेत्र हुँदै मुग्लिनसम्मका बासिन्दालाई उच्च सतर्कता अपनाउँदै सुरक्षित स्थानमा रहन आग्रह गरेको छ।
भोटेकोशीमा चानक आएको ठूलो बाढीका कारण रसुवा भन्सार कार्यालयसँग सम्पर्क हुन सकेको छैन। भन्सार विभागका प्रवक्ता किशोर बर्तौलाका अनुसार कार्यालयको अवस्थाबारे अहिलेसम्म यकिन जानकारी प्राप्त हुन सकेको छैन। भन्सार कार्यालयमा कार्यरत १३ भन्दा बढी कर्मचारी भने सकुशल रहेको जानकारी प्राप्त भएको उनले बताए। तर बाढीले कार्यालयमा पुर्याएको क्षति तथा कार्यालयको भौतिक अवस्थाबारे भने कुनै जानकारी नआएको उनको भनाइ छ।
बाढीका कारण रसुवा क्षेत्रमा जनजीवन प्रभावित हुनुका साथै नेपाल–चीन सीमा जोड्ने व्यापारिक नाका र आसपासका क्षेत्रमा समेत क्षति पुगेको आशंका गरिएको छ। (तस्बिरः प्रतीकात्मक)
