काठमाडौं । चीनसँगको प्रमुख सीमा नाका तातोपानी जोड्ने सडकको इको खण्ड ४० दिनपछि सञ्चालनमा आएपछि पर्यटकीय आवागमनमा समेत सहजता आउने अपेक्षा गरिएको छ ।
सिन्धुपाल्चोक जिल्लाको भोटेकोशी गाउँपालिका–२ कोदारीस्थित इको क्षेत्रमा असार ३१ गते पहिरोका कारण सडक भासिएपछि यातायात अवरुद्ध भएको थियो । सडक डिभिजन कार्यालयले नयाँ ट्र्याक निर्माण गरेपछि सोमबारदेखि उक्त खण्डमा सवारीसाधन सञ्चालनमा आएका हुन् ।
सडक खुलाउन छ वटा टिपर र १२ वटा ठूला मेसिन परिचालन गरिएको थियो । सडक डिभिजन कार्यालयका प्रमुख नारायणदत्त भण्डारीका अनुसार डाक्लाङ क्षेत्रमा सडक सञ्चालनमा आइसकेको छ भने लिपिङ क्षेत्रमा पनि मर्मतको काम छिट्टै अघि बढाइनेछ ।
तातोपानी नाका नेपाल–चीन सीमापार व्यापारसँगै सिन्धुपाल्चोकको सीमा पर्यटनका लागि पनि महत्वपूर्ण गन्तव्य हो । नाका र सडकको नियमित सञ्चालनले चिनियाँ पर्यटकको आवागमन, सीमा क्षेत्रको भ्रमण तथा स्थानीय होटल, यातायात र अन्य पर्यटन व्यवसायलाई प्रत्यक्ष लाभ पुग्न सक्छ ।
सडक खुलेसँगै कोदारी बजारमा रोकिएका कन्टेनर भन्सारतर्फ जान थालेका छन् । सिन्धुपाल्चोक उद्योग वाणिज्य सङ्घका अध्यक्ष बुद्धराज बस्नेतका अनुसार लिपिङपारि अझै करिब ८५ कन्टेनर रोकिएका छन् ।
स्थानीय व्यवसायीले वर्षायाममा सडक अवरुद्ध हुने समस्या दीर्घकालीन रूपमा समाधान गर्नुपर्ने माग गरेका छन् । बाह्रबिसे–तातोपानी सडकको करिब २६ किलोमिटर खण्डमा हरेक वर्ष पहिरो र सडक भासिने समस्या दोहोरिँदै आएको भोटेकोशी गाउँपालिका–२ का वडाध्यक्ष कुमार श्रेष्ठले बताए ।
उनका अनुसार इको खण्ड खुले पनि लिपिङको अवरोध हटाउन नसकेसम्म तातोपानी नाका पूर्ण रूपमा सहज हुने अवस्था छैन । सडकको स्थायित्व कायम गर्न सके व्यापारसँगै नेपाल–चीन सीमा क्षेत्रको पर्यटन आवागमनलाई पनि थप व्यवस्थित बनाउन सकिने देखिन्छ ।
