नागढुङ्गा सुरुङमार्ग चार पाङ्ग्रे साना सवारीलाई खुला
काठमाडौं । काठमाडौं–धादिङ आवागमनलाई सहज बनाउने लक्ष्यसहित निर्माण गरिएको नागढुंगा–सिस्नेखोला सुरुङमार्ग आजदेखि निजी सवारीका लागि खुला गरिएको छ। भदौ ८ गते बिहान ९ बजेदेखि नौ जनासम्म यात्रु क्षमता भएका कार, जीप र भ्यान सुरुङमार्गबाट आवतजावत गर्न पाउने भएका छन्।
यसअघि उद्घाटन भएको करिब एक महिनासम्म सुरुङमार्ग आपत्कालीन सवारीका लागि मात्र प्रयोग हुँदै आएको थियो। हाल सुरुङमार्गलाई परीक्षणका रूपमा बिहान ९ बजेदेखि साँझ ६ बजेसम्म सञ्चालन गरिएको छ। परीक्षण अवधिमा चालकको अनुभव, सवारी सञ्चालनमा देखिएका समस्या तथा सुरक्षाका विषयमा अध्ययन गरिने सुरुङमार्ग सुरक्षा युनिटले जनाएको छ।
परीक्षण अवधिमा निजी सवारीलाई सुरुङमार्ग प्रयोग गरेबापत कुनै शुल्क लाग्ने छैन। परीक्षण सफल भएपछि अन्य सवारीलाई पनि क्रमशः सुरुङमार्गमा प्रवेश दिने तयारी गरिएको छ।सुरुङभित्र भने सवारीको गति ४० किलोमिटर प्रतिघण्टाभन्दा बढी गर्न नपाइने, हेडलाइट बाल्नुपर्ने, सवारी रोक्न र ओभरटेक गर्न नपाइने नियम लागू गरिएको छ।
पैदलयात्री र दुईपांग्रे सवारीका साथै पेट्रोल, डिजेल तथा अन्य प्रज्वलनशील पदार्थ बोकेका सवारीलाई सुरुङभित्र प्रवेश निषेध गरिएको छ।करिब २९ अर्ब रुपैयाँ लगानीमा निर्माण भएको यो नेपालको पहिलो व्यवस्थित यातायात सुरुङमार्ग हो। मुख्य सुरुङ २.६८ किलोमिटर लामो छ भने २.५५७ किलोमिटरको आपत्कालीन सुरुङसमेत निर्माण गरिएको छ। नियमित सञ्चालनमा आएपछि भने सुरुङ प्रयोगमा शुल्क लाग्नेछ। कार तथा भ्यानले काठमाडौं भित्रिँदा ६५ र बाहिरिँदा ६० रुपैयाँ तिर्नुपर्नेछ। सात वर्षको निर्माण यात्रा र करिब एक महिनाको प्रतीक्षापछि अब निजी कार-जीप-भ्यानका लागि नागढुंगा सुरुङमार्ग खुला भएको छ। परीक्षण सफल भए सुरुङमार्गमा अन्य सवारीको आवागमन पनि क्रमशः विस्तार गरिने छ।
