बयानको भिडियो सार्वजनिक गर्ने प्रहरीनै पक्राउ

काठमाडौं । बारा जिल्लाको जितपुर-सिमरामा घटेको गम्भीर अपराधका आरोपीको बयान भिडियो खिचेर सामाजिक सञ्जालमा सार्वजनिक गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय बाराले आफ्नै एक प्रहरी कर्मचारीलाई पक्राउ गरेको छ। अनुसन्धानका क्रममा रहेका अभियुक्तको भिडियो बाहिरिएपछि अनुसन्धानको गोपनीयता र कानुन उल्लङ्घन भएको भन्दै प्रहरीले कारबाही प्रक्रिया अघि बढाएको हो।

सिमरा घटनाका पक्राउ परेका आरोपीले प्रहरी र स्वास्थ्यकर्मीसमक्ष दिएको बयानको भिडियो सामाजिक सञ्जालमा व्यापक रूपमा भाइरल भएको थियो। अनुसन्धान अधिकारीको रोहवरमा हुनुपर्ने अति संवेदनशील बयान बाहिर्याएको र साइबर अपराध तथा गोपनीयतासम्बन्धी नियम उल्लङ्घन गरेको ठहर गर्दै ती प्रहरीलाई हिरासतमा लिइएको छ।

जिल्ला प्रहरी कार्यालय बाराका अनुसार पक्राउ परेका प्रहरी कर्मचारीमाथि थप छानबिन गरी कडा विभागीय तथा कानुनी कारबाही गरिने छ। प्रहरी नियन्त्रणमा रहेका अभियुक्त वा नाबालकको पहिचान खुल्ने भिडियो सामाजिक सञ्जालमा पोस्ट तथा सेयर नगर्न बारा प्रहरीले सर्वसाधारणलाई पुन: सचेत गराएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर