मनसुनी वायुको प्रभाव : वर्षाको गतिविधि बढ्ने

काठमाडौं । देशभर मनसुनी वायुको प्रभाव कायमै रहँदा वर्षाको गतिविधि बढ्ने सम्भावना रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ।

हाल देशभर सामान्यतया बादल लागेको छ। बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थान तथा कोशी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। देशका हिमाली तथा पहाडी भू–भागका केही स्थानमा मेघगर्जन/चट्याङसहित मध्यम वर्षा तथा हिमपात हुनसक्ने अनुमान गरिएको छ।

यस्तै, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराई भू–भागका केही स्थान तथा मधेशसहित कोशी र सुदूरपश्चिम प्रदेशका तराई भू–भागका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्म वर्षा हुने सम्भावना रहेको छ।

रातिको समयमा पनि देशभर सामान्यतया बादल लाग्नेछ। कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भू–भागका केही स्थान तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भू–भागका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना छ। राति कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भू–भागका धेरै स्थान तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागका केही स्थानमा मध्यमसम्म वर्षा हुनसक्ने महाशाखाले जनाएको छ। तराईका धेरै स्थानमा समेत मेघगर्जन/चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ।

रातिको समयमा पनि कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली, पहाडी तथा तराई भू–भागका एक–दुई स्थानमा भारी वर्षा हुनसक्ने पूर्वानुमान गरिएको छ। वर्षाका कारण पहाडी क्षेत्रमा पहिरो तथा सडक यातायातमा असर पर्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन मौसम महाशाखाले आग्रह गरेको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर