केही स्थानमा भारी मनसुनी वर्षाको सम्भावना
काठमाडौं । हाल देशमा मनसुनी वायुको प्रभाव कायम रहेको छ भने मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास अवस्थित रहेको छ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिनभर देशका विभिन्न भू-भागमा साधारणतया बदली रहनेछ। विशेष गरी दिउँसो हिमाली र पहाडी भू-भागका केही स्थानहरूमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा वा हिमपातको सम्भावना रहेको छ। बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रका केही स्थानहरूमा तथा मधेश र कोशी प्रदेशका तराईका थोरै स्थानहरूमा पनि मेघगर्जन चट्याङसहित मध्यम वर्षा हुन सक्नेछ।
यसैबीच कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भू-भागका एक–दुई स्थानमा भने भारी वर्षाको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ।
त्यस्तै, आज राति पनि मौसममा खासै सुधार आउने छैन। राति हिमाली र पहाडी भू-भागमा साधारणतया बादल लाग्नेछ भने तराई भू-भागमा आंशिक बदली रहनेछ। हिमाली भू-भागका थोरै र पहाडी भू-भागका केही स्थानमा मेघगर्जन/चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना कायम छ।
यसैगरी, कोशी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका केही स्थान तथा मधेश, बागमती र गण्डकी प्रदेशका तराईका थोरै स्थानहरूमा चट्याङसहित मध्यम वर्षा हुने अनुमान गरिएको छ।
