पत्रकार किशोर श्रेष्ठ रिहा
काठमाडौं । जनआस्था साप्ताहिकका सम्पादक/प्रकाशक किशोर श्रेष्ठ रिहा भएका छन् ।
पाँच दिनदेखि प्रहरी हिरासतमा रहेका श्रेष्ठ सोमबार सर्वोच्च अदालतको आदेशबाट रिहा भएका हुन् । न्यायाधीशद्वय नहकुल सुवेदी र बालकृष्ण ढकालको इजलासले उनलाई हिरासतमुक्त गर्न आदेश दिएको थियो । सर्वोच्चले हाजिरी जमानी/तारिखमा राखेर अनुसन्धान गर्न आदेश दिएर जिल्ला प्रहरी परिसर काठमाडौंको नाममा परमादेश जारी गरेको हो ।
उनी रिहा भएसँगै जनआश्थाको कार्यालय र सम्पादक श्रेष्ठको निवासबाट जफत गरिएका ६ वटा सीपीयू, दुई वटा ल्यापटप सहरजिष्ट्रारको रोहबरमा फिर्ता गर्न सर्वोच्चले स्पष्ट आदेश दिएको छ ।
यसअघि शुक्रबार सर्वोच्चले श्रेष्ठलाई उनको कार्यलयबाट बरामद गरिएका सामानसहित हाजिर गराउन आदेश जारी गरेको थियो । श्रेष्ठ गत बुधबार वैयक्तिक गोपनीयतासम्बन्धी ऐन, २०७५ विपरीतको कसुर गरेको आरोपमा पक्राउ परेका थिए ।
