सरकारको उपेक्षाविरुद्ध म्यानपावर कम्पनी बन्द

काठमाडौं । नेपाल वैदेशिक रोजगार व्यवसायी संघले आफ्ना मागप्रति सरकार गम्भीर नभएको भन्दै आज सोमबारदेखि देशभरका सम्पूर्ण म्यानपावर कम्पनीको काम–कारोबार पूर्ण रूपमा बन्द गर्ने घोषणा गरेको छ ।

संघले म्यानपावर कार्यालय बन्द गर्नुका साथै वैदेशिक रोजगारीका लागि श्रमिक पठाउने सम्पूर्ण प्रक्रिया समेत ठप्प पार्ने जनाएको छ । आफ्ना माग सम्बोधन गर्न सरकारलाई पटक–पटक आग्रह गर्दा पनि आवश्यक पहल नभएको भन्दै आन्दोलनलाई थप कडा बनाउँदै पूर्ण रूपमा सेवा बन्द गर्ने निर्णय गरिएको संघले जनाएको हो ।

यसअघि संघले आन्दोलनका विभिन्न चरणमा श्रम स्वीकृति, नयाँ विज्ञापन प्रकाशन र भिसा स्ट्याम्पिङलगायतका काम रोकेको थियो । वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति प्राप्त गरिसकेका श्रमिकलाई उडानमा पठाउन दिइएको समयसीमासमेत समाप्त भएपछि संघले अब सबै प्रकारका सेवा बन्द गर्ने निर्णय गरेको हो ।

संघको निर्णयसँगै देशभरका म्यानपावर कम्पनीमार्फत हुने नयाँ मागपत्रको प्रक्रिया, श्रमिक छनोट, कागजात तयारी तथा वैदेशिक रोजगारीमा श्रमिक पठाउने सम्पूर्ण काम प्रभावित हुने भएको छ ।

म्यानपावर व्यवसायीको आन्दोलन लम्बिएमा वैदेशिक रोजगारीमा जाने तयारीमा रहेका हजारौँ श्रमिक प्रत्यक्ष प्रभावित हुन सक्ने देखिएको छ । विशेषगरी श्रम स्वीकृति, भिसा तथा उडानको प्रक्रियामा रहेका श्रमिकको वैदेशिक यात्रा अनिश्चित बन्न सक्ने अवस्था देखिएको छ ।

संघले सरकारलाई आफ्ना माग तत्काल सम्बोधन गर्न आग्रह गर्दै माग पूरा नभएसम्म आन्दोलन जारी राख्ने संकेत गरेको छ । सरकारले व्यवसायीका माग सम्बोधन नगरे आन्दोलन अझ लम्बिन सक्ने देखिएको छ ।

यससँगै वैदेशिक रोजगारीमा जाने नेपाली श्रमिकको प्रक्रिया प्रभावित हुनुका साथै म्यानपावर व्यवसायको दैनिक कारोबारसमेत ठप्प हुने भएको छ । सरकार र व्यवसायीबीच तत्काल सहमति हुन नसके वैदेशिक रोजगार क्षेत्रमै यसको थप असर देखिन सक्ने व्यवसायीहरूको भनाइ छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर