जाजरकोटको खलङ्गामा पहिरोबाट एक जनाको मृत्यु
काठमाडौं । जाजरकोटमा अविरल वर्षापछि जाजरकोटको भेरी नगरपालिका–२ रिसाङमा गएको पहिरोमा परी घाइते भएर उपचाररत ५२ वर्षीय केदार कार्कीको मृत्यू भएको छ ।
गम्भीर रुपमा घाइते हुनुभएका कार्किलाई हिजो नै कोहलपुर मेडीकल कलेजमा रीफर गरिएको थियो । उपचारको क्रममा उहाँको आज विहान मृत्यु भएको आफन्त टीकारजंग वलीले जानकारी दिनुभयो । त्यस्तै हालसम्म पहिरोमा परेर दुई जना बेपत्ता भएका छन् ।
जिल्ला प्रहरी कार्यालय जाजरकोटका सूचना अधिकारी एवं प्रहरी निरीक्षक सुधीरकुमार खड्काले जानकारी बेपत्ता हुनेमा सोही वडाको फारुलाका ५४ वर्षीय उमासिंह खत्री र चिसापानीका ७० वर्षीय भीमबहादुर कार्की रहेका छन् ।
उक्त पहिरोबाट सात जना घाइते भएका छन्। घाइते हुनेहरूमा वडा २ का ६० वर्षीय रामबहादुर शाही, ५७ वर्षीय भद्राकली कार्की, ४५ वर्षीय सिद्धिबहादुर कामी, ४५ वर्षीय मनवीर चँदरा, ४७ वर्षीय मोतिकला विक र १६ वर्षीय मनिषा विक रहेका छन्।
घाइते तीन जनाको अवस्था गम्भीर रहेको र जिल्ला अस्पताल जाजरकोटमा सामान्य उपचारपछि थप उपचारका लागि नेपालगन्ज रेफर गरिएको सूचना अधिकारी खड्काले बताउनुभयो। घाइतेहरूको उद्धारका लागि अस्थायी प्रहरी पोष्ट रावतगाउँबाट प्रहरी सहायक निरीक्षक धर्मराज ढुङ्गानाको नेतृत्वमा पाँच जनाको टोली खटाइएको छ।
त्यसैगरी, पहिरोबाट भेरी नगरपालिका–३ जाजरकोट स्यालाका पूर्णबहादुर विकको छकोठे दुईतले ढुङ्गामाटोले बनेको कच्ची घर पूर्ण रूपमा क्षति भएको र सोही गाउँका भैरवी केसीका दुईवटा टिनका अस्थायी टहरा पनि पहिरोले पूरै बगाएको छ।
घटनाको जानकारी पाएलगत्तै जिल्ला प्रहरी कार्यालयबाट प्रहरी निरीक्षक राजेश शाहीको नेतृत्वमा ११ जना र सशस्त्र प्रहरी बल नेपाल आश्रित गुल्म हेडक्वार्टरबाट सशस्त्र प्रहरी निरीक्षक कमल कार्की नेतृत्वको १० जनाको टोली उद्धारका लागि परिचालन गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
प्रभावित केहि स्थानमा अविरल वर्षा र पहिरोका कारण सुरक्षाकर्मिहरु समेत पुग्न नसकको जनाइएको छ । जाजरकोटका प्रमुख जिल्ला अधिकारी खडानन्द अधिकारीले आज विहानै देखि खोज तथा उद्धारका कार्यमा तिनवटै सुरक्षा निकाय जुटेको बताउनुभयो।
