आज यी स्थानमा पाइने छ ग्यास
काठमाडौं । सरकारले मुलुकभर ग्यासको आपूर्ति व्यवस्था सहज पार्न भन्दै सार्वजनिक बिदाको दिन शनिबार पाँच ठाउँबाट ग्यास उपलब्ध गराउने भएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौँ र नेपाल आयल निगमको समन्वयमा उपभोक्तालाई सहज पार्न पाँच ठाउँबाट ग्यास वितरण गर्न लागिएको हो ।
निगमका अनुसार पुरानो जिल्ला प्रशासन कार्यालय बबरमहल, राधा स्वामीपरिसर कीर्तिपुर, राधा स्वामी भवन वसुन्धरापरिसर, यातायात कार्यालयपरिसर चाबहिल र निगमको टेकु कार्यालयबाट ग्यास वितरण गरिने छ ।
निगमको टेकुपरिसरमा नेपाल, एचपी, एभरेस्ट/सुगम, श्रीराम, सगर, सिद्धार्थ, श्री र हिमाल ग्यास वितरण हुने छ । यस्तै यातायात कार्यालयपरिसर चाबहिलमा नेपाल र एचपी ग्यास वितरण हुने छ ।
यस्तै राधा स्वामी कीर्तिपुरपरिसरमा नेपाल, एचपी, एभरेस्ट, सुगम, श्रीमाया, श्रीकृष्ण, साइबाबा र ओम ग्यास वितरण गरिने छ । राधा स्वामी वसुन्धरापरिसरमा नेपाल, एचपी, एभरेस्ट, सुगम, भानु र ओम ग्यास वितरण गरिने छ ।
यस्तै पुरानो जिल्ला प्रशासन कार्यालय बबरमहलमा नेपाल, एचपी, एभरेस्ट/सुगम, श्रीराम, सगर, हिमाल, एसटिसी, लोकप्रिय र सूर्य ग्यास वितरण गरिने निगमले जनाएको छ । अति आवश्यक पर्ने उपभोक्ताले नागरिकता वा राष्ट्रिय परिचयपत्रसहित बिहान १० बजेदेखि बेलुका ६ बजेसम्म यी ठाउँबाट ग्यास खरिद गर्न सक्ने निगमले जनाएको छ ।
पहिलो चरणमा ती ठाउँबाट ग्यास वितरण गर्ने र अन्य ठाउँमा पनि सुरु गरिने निगमले जनाएको छ । स्थानीय डिपोबाट पनि निरन्तर ग्यासको वितरण भइरहेको निगमले जनाएको छ । निगमका कार्यकारी निर्देशक नागेन्द साहले शनिबार ग्यास लिन कति उपभोक्ता आउनुहुन्छ त्यसका आधारमा अन्य दिन पनि वितरण गर्ने बताउनुभयो ।
आधा तौलबाट पूर्ण तौलको सिलिन्डरमा जाँदा बजारमा माग बढ्दा अभाव भएकामा पछिल्लो समय ग्यासको आयात नियमित भइरहेकाले अभाव क्रमशः कम हुँदै जाने उहाँको भनाइ छ ।
जिल्ला प्रशासन कार्यालय काठमाडौँका प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेलले पहिलो चरणमा उपभोक्तालाई तत्कालका लागि ग्यास सहज उपलब्ध गराउन बिदाको दिनमा कर्मचारी परिचालन गरी ग्यास वितरण गर्न लागिएको जानकारी दिनुभयो ।
यसअघि निगमको कार्यालय टेकुबाट ग्यासको वितरण भइरहेको छ । निगमले ग्यासको आयात नियमित भइरहेको बताए पनि उपभोक्ताले भने सहजै ढङ्गले पाउन सकेका छैनन् । एउटा सिलिन्डर हुने उपभोक्ता थप मारमा परेका छन् ।
निगमका अनुसार १ साउनदेखि शुक्रबारसम्म दुई हजार ७८१ बुलेट ग्यास आयात भएको छ । औसतमा दैनिक एक लाख १० हजार सिलिन्डर वितरण हुने गरेकामा २८ दिनमा औसतमा एक लाख ३२ हजार सिलिन्डर वितरण भएको निगमले जनाएको छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले नियमित रूपमा ४९ हजार पाँच सय मेट्रिक टन ग्यास आपूर्ति भइरहेकामा तीन महिनाका लागि ६० हजार मेट्रिक टन पु¥याउन परराष्ट्र मन्त्रालयमार्फत भारत सरकारलाई अनुरोध गरेको जनाएको छ ।
उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव नारायणप्रसाद शर्मा दुवाडीले विगतका चार महिनामा कम ग्यास आयात भएकाले त्यसको असर अहिले देखिएको जानकारी दिनुभयो । पश्चिम एसियाली मुलुकमा भएको युद्धका कारणले ग्यासको आपूर्ति कम हुँदा २८ फागुनदेखि निगमले आधा तौलको सिलिन्डर (७.१ केजी) वितरण भएकामा ३१ असारदेखि भरी तौलको (१४.२ केजी) सिलिन्डर वितरण हुँदा एक्कासि माग बढ्दा अभाव भएको निगमले जनाएको छ ।
