काठमाडौं । प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिमा गृहसचिव र नेपाल प्रहरीका प्रमुखमाथि विशेषगरी घण्टी पार्टीका सांसद खगेन्द्र सुनारले गरेको व्यवहारप्रति घण्टी पार्टीकै गृहमन्त्री सुधन गुरुङले असन्तुष्टि जनाएका छन् ।
प्रतिनिधिसभाको कानुन, न्याय तथा मानव अधिकार समितिको शुक्रबार बसेको बैठकमा गृहमन्त्री गुरुङले आरोपका भरमा कसैको चरित्र हत्या गर्न नमिल्ने भनी सुरक्षा निकायका वरिष्ठ अधिकारीहरूको रक्षा गरेका छन् । गत बुधबार लेखा समितिको बैठकमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र निर्वाचनका बेला हुने पोसाक तथा अन्य सामग्री खरिदमा भएको भनिएको अनियमिततासम्बन्धी उजुरीमाथि छलफल भएको थियो । सो क्रममा सत्तापक्षीय दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले प्रहरी नेतृत्वको कडा आलोचना गर्दै तत्काल राजीनामा वा बर्खास्त गरेर छानविन गर्न माग गरेका थिए ।
सांसद सुनारले बैठकमा भनेका थिए, ‘नैतिकता छ भने तपाईंहरूले छोड्नुपर्छ । कानुनी राज्य हो भने बर्खास्ती गरिनुपर्छ, आजै, अहिल्यै राइट नाउ । तत्कालीन गृहमन्त्री, गृहसचिव र आईजीपीलाई तत्काल जिम्मेवारीबाट मुक्त गरेर कठघरामा उभ्याई छानविन गरिनुपर्छ ।’
कानुन, न्याय तथा मानव अधिकार समितिको शुक्रबार बसेको बैठकमा ‘मेरो अनुपस्थितिमा जसरी गृहसचिव र प्रहरी प्रमुखमाथि व्यवहार गरियो, त्यसप्रति मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको छ’, मन्त्री गुरुङले भने, ‘वि आर नट ह्याप्पी (हामी खुसी छैनौँ) । दिस इज नट गुड (यो राम्रो भएन) ।’
गृहमन्त्री गुरुङले थपे, ‘आरोप जो कसैले पनि लगाउन सक्छ, तर पुष्टि नभएसम्म कसैको चरित्र हत्या गर्न पाइँदैन । उजुरीको आधारमा हामी आफैँ न्यायाधीश बन्नु हुँदैन ।’ ‘हाम्रा कर्मचारी र आईजी साबहरूले जसरी मिहिनेतका साथ काम गर्नुभएको छ, म त्यसको प्रत्यक्षदर्शी छु । उहाँहरू सरकारको स्पिरिटमा काम गर्न दिनरात खट्नुभएको छ’, मन्त्री गुरुङले भने, ‘पुष्टि नभएको आरोपलाई लिएर संसदीय समितिमा त्यसरी प्रस्तुत हुनु राम्रो होइन ।’
