पहिरोले बागलुङका दुई राजमार्ग अवरूद्ध
काठमाडौं । बाढी तथा पहिरोका कारण बागलुङका दुई राष्ट्रिय राजमार्ग शुक्रबार बिहानैदेखि अवरूद्ध भएको छ । कालिगण्डकी करिडोर बागलुङ खण्ड र मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड अवरुद्ध भएको छ । अविरल वर्षाका कारण बागलुङ नगरपालिका १३ स्थित कालाखोला बगरमा पहिरो खस्दा बिहानैदेखि सडक अवरूद्ध भएको छ ।
यस्तै मध्यपहाडी लोकमार्ग अन्तरगत बागलुङको बुर्तिवाङ–निसीखोला खण्डको निसीखोला गाउँपालिका ४ कानाबजार नजिक ठाडाखोलामा बाढी आउदा मध्यपहाडी लोकमार्ग अवरूद्ध बनेको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक रामेस्वर त्वातिले जानकारी दिनुभयो ।
दुवै राजमार्ग खुलाउन सडक डिभिजन कार्यालय, मध्यपहाडी लोकमार्ग आयोजना तथा कालीगण्डकी करिडोर कार्यालयसँग समन्वय भईरहेको प्रनाउ त्वातिले जानकारी दिनुभयो ।
मोदीखोलाको बाढीले कास्की–पर्वत जोड्ने दुई पुल बगायो
बिहीबार राति करिब २ः१५ बजे आएको बाढीले कास्की र पर्वत जोड्ने दुईवटा मेटल पुल बगाएको छ। साथै, मन्दिरमा फसेका तीन जनाको उद्धार प्रयास जारी रहेको छ।
अन्नपूर्ण गाउँपालिका–५ र ६ को सीमास्थित बिरेठाँटी सडकखण्ड नजिक मोदीखोलाको बिचमा रहेको अन्नपूर्ण माता मन्दिरमा आवतजावतका लागि निर्माण गरिएका दुईवटा मेटल पुल (कास्की र पर्वततर्फका) बाढीले बगाएको हो। बाढीले मन्दिरको आधा भागसमेत क्षति पुर्याएको जनाएको छ।
घटनाका क्रममा मन्दिरमा रहेका एक जना सन्त–पुजारी र दुई जना भक्तजन गरी तीन जना मन्दिरमै फसेको सूचना प्राप्त भएपछि उद्धारका लागि सशस्त्र प्रहरी बल नेपाल नं. २४ कालिका गण, कास्कीबाट चार जना रोप–रेस्क्यु तथा तीन जना गोताखोरसहितको टोली घटनास्थलमा पुगेको छ।
आवश्यक विपद् उद्धार सामग्रीसहित राति २ः३५ बजे खटिएको सुरक्षा टोलीले फसेकाहरूको उद्धारका लागि प्रयास जारी राखेको सशस्त्र प्रहरी बलका डीएसपी शैलेन्द्र थापाले जानकारी दिनुभयो।
