रुकुम–बागलुङ खण्ड अवरुद्ध
काठमाडौं । वर्षाका कारण आएको पहिरोले मध्यपहाडी राजमार्गको रुकुमपूर्व हुँदै बागलुङ जाने सडकखण्ड अवरुद्ध भएको छ । रुकुमपूर्वको भूमे गाउँपालिका–५ स्थित धौलापहिरा तथा वडा नं. ४ को काँडाबगरलगायत क्षेत्रमा आएको पहिरोले राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको हो ।
रुकुमपूर्वका प्रमुख जिल्ला अधिकारी कोपिला राईले सडक खुलाउने प्रयास भइरहेको जानकारी दिनुभयो । सुरक्षा निकायका प्रमुखसहित आफू पनि बिहानैदेखि पहिरो गएको स्थानमा पुगेर पहिरो पन्छाउने काम भइरहेको उहाँले बताउनुभयो ।
प्रमुख जिल्ला अधिकारी राईका अनुसार जिल्लाको सम्पूर्ण सुरक्षा संयन्त्र, स्थानीय सरकार र मध्यपहाडी राजमार्ग आयोजना कार्यालयको टोलीसँग समन्वय गरेर सडक खुलाउने काम भइरहेको छ । बिहीबार बेलुका पहिरोका कारण सडकमा अलपत्र परेका यात्रुको उद्धारसमेत गरिएको थियो । उहाँले अलपत्र परेका ३८ जना यात्रुलाई उद्धार गरी प्रहरीको गाडीमार्फत गन्तव्यतर्फ पठाइएको जानकारी दिनुभयो ।
पहिरो गएका स्थानमा माथिल्लो भागबाट गेगरसहितको पहिरो खस्ने गरेको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक (डीएसपी) खुमानन्द पाण्डेले सडक पूर्ण रूपमा सञ्चालनमा आउन समय लाग्ने भएकाले यात्रुले धैर्य अपनाउनुपर्ने बताउनुभयो । उहाँले मध्यपहाडी राजमार्ग हुँदै यात्रा गर्नेहरूलाई सडकको अवस्था बुझेर मात्र यात्रा गर्न अनुरोध गर्नुभएको छ ।
