आजको मन्त्रिपरिषदको पाँच निर्णय
काठमाडौं । सरकारले सुनसरी र सिराहा जिल्लामा भएको प्रदर्शनका क्रममा मृत्यु भएका चार जनालाई सहिद घोषणा गर्ने निर्णय गरेको छ। शिक्षा, विज्ञान तथा प्रविधि एवं खेलकुदमन्त्री तथा सरकारका प्रवक्ता सस्मित पोखरेलका अनुसार मङ्गलबार बसेको मन्त्रीपरिषद्को बैठकले उक्त निर्णय गरेको हो।
बैठकले सुनसरी जिल्लाका ओमप्रकाश मेहता, जयप्रकाश मेहता, रवीन्द्रकुमार मेहता तथा सिराहा जिल्लाका गणेशकुमार यादवलाई सहिद घोषणा गरेको हो । मन्त्रीपरिषद् बैठका पाँच निर्णय :
१. नेपालभित्र पैठारी वा उत्पादन हुने विद्युतबाट सञ्चालन हुने एम्बुलेन्स र शव वाहनमा लाग्ने स्वच्छ पूर्वाधार लगानी शुल्क र मूल्य अभिवृद्धि करमा पूर्ण रूपमा छुट प्रदान गर्ने।
२. सुनसरी/सिराहा जिल्लामा भएको प्रदर्शनको क्रममा मृत्यु भएका मृतक व्यक्तिहरू सुनसरी जिल्लाका ओम प्रकाश मेहता, जय प्रकाश मेहता, रविन्द्र कुमार मेहता र सिराहा जिल्लाका गनेश कुमार यादवलाई सहिद घोषणा गर्ने।
३.पोर्चुगल सरकारलाई काठमाडौँमा कन्सुलर कार्यालय (कन्सुलर अफिस) खोल्न सहमति दिने।
४. वैदेशिक रोजगार बोर्डको कार्यकारी निर्देशक पदमा श्री निर्मल कुमार उप्रेती, बारालाई नियुक्ति गर्ने।
५. पूर्वमहालेखापरीक्षक श्री टंकमणि शर्मा दङ्गालको संयोजकत्वमा गठित एनसेलको शेयर खरिद बिक्री सम्बन्धी अध्ययन तथा छानबिन प्रतिवेदन, २०८० सार्वजनिक गर्ने।
