देशका अधिकांश प्रमुख राजमार्ग अवरुद्ध

काठमाडौं । देशका विभिन्न स्थानमा परेको अविरल वर्षाका कारण पहिरो खस्ने र नदीनालाले सडक कटान गर्ने क्रम बढेपछि प्रमुख राजमार्ग तथा सहायक सडकखण्डहरू अवरुद्ध भएका छन्।

प्रहरी प्रधान कार्यालयले आज बिहान ६:०० बजेसम्मको विवरण सार्वजनिक गर्दै काभ्रे, सिन्धुपाल्चोक, इलाम, रसुवा, रुकुम पश्चिम र लमजुङ लगायतका जिल्लाहरूमा सवारी आवागमन प्रभावित भएको जनाएको छ।

विपी राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका-९ स्थित पिन्थली र नार्केमा आज बिहानै माथिबाट लेदोसहितको पहिरो खसेपछि सडक पूर्ण रूपमा अवरुद्ध भएको छ।

सम्भावित बाढी र पहिरोको जोखिमलाई मध्यनजर गर्दै खुर्कोट-नेपालथोक-कटुन्जेबेँसी-सिन्धुली खण्डमा साँझ ६:०० बजेदेखि बिहान ४:०० बजेसम्म सम्पूर्ण सवारी साधन चलाउन रोक लगाइएको छ भने बिहान ४:०० देखि साँझ ६:०० बजेसम्म मात्र यातायात सञ्चालन गर्न दिइएको छ। यस्तै, मकवानपुरस्थित कान्ति लोकपथमा पनि सुरक्षाका कारण रातिको समयमा सवारी सञ्चालनमा रोक लगाइएको छ।

मेची राजमार्गअन्तर्गत इलाम नगरपालिका-९ राजदुवालीमा अत्यधिक हिलो जमेका कारण सडक ठप्प भएको छ भने प्रहरीले सो क्षेत्रमा वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरेको छ। यता अरनिको राजमार्गका विभिन्न ठाउँमा पहिरोले ठूलो क्षति पुर्याएको छ।

सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिकास्थित जिरोकिलो र इकुमा पहिरो खसेको छ भने लिपिङमा सडक नै भासिएर यातायात रोकिएको छ। साथै, चौतारा साँगाचोकगढी नगरपालिका-९ डुम्रेमा पनि पहिरो खस्दा अरनिको राजमार्ग पूर्ण रूपमा ठप्प बनेको छ।

त्यसैगरी, रसुवाको उत्तरगया गाउँपालिका-५ खाल्टेमा त्रिशूली नदीले कटान गर्दा त्रिशूली-मैलुङ-स्याफ्रुबेंसी कच्ची सडक अवरुद्ध भएको छ।

रुकुम पश्चिमको रिजेगार्ड खोला नजिक भेरी करिडोरअन्तर्गत जाजरकोट-डोल्पा सडकखण्ड पहिरोले बन्द गराएको छ। लमजुङको मध्यनेपाल नगरपालिका-१० बिमिरेभन्ज्याङस्थित मध्यपहाडी लोकमार्गमा पनि गएराति पहिरो खसेर बाटो अवरुद्ध भएकाले प्रहरीले यात्रुहरूलाई वैकल्पिक सडक प्रयोग गर्न अनुरोध गरेको छ।

प्रहरी प्रधान कार्यालयका अनुसार सम्बन्धित निकायहरूसँगको समन्वयमा अवरुद्ध सडकहरू खुलाउने र यातायात सञ्चालनमा ल्याउने प्रयास निरन्तर भइरहेको छ। मौसम प्रतिकूल रहेकाले थप बाढी-पहिरोको जोखिम कायमै रहेको भन्दै यात्रा गर्दा विशेष सावधानी अपनाउन सर्वसाधारणलाई आग्रह गरिएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर