थाइल्यान्डको गोलीकाण्डमा ६ जना मारिए
काठमाडौं । थाइल्यान्डको राजधानी बैंकक नजिकको नोन्थाबुरीस्थित देबसिरिन विद्यालयमा भएको गोलीकाण्डमा कम्तीमा ६ जनाको ज्यान गएको छ। घटनामा संलग्न रहेको आशंका गरिएका १४ वर्षीय विद्यार्थी पनि घटनास्थलमै मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार मृत विद्यार्थी कक्षा ९ मा अध्ययनरत थिए। गोली चल्नासाथ विद्यालय परिसरमा त्रास फैलिएको थियो भने विद्यार्थी र कर्मचारी ज्यान जोगाउन भागदौड गरेका थिए। घटनापछि ठूलो संख्यामा प्रहरी र आपतकालीन उद्धार टोली परिचालन गरिएको थियो।
सुरक्षालाई ध्यानमा राख्दै अधिकारीहरूले सर्वसाधारणलाई नोन्थाबुरीस्थित देबसिरिन विद्यालय आसपासको क्षेत्रमा नजान आग्रह गरेका छन्।गोलीकाण्डको कारण र घटनाको पृष्ठभूमिबारे विस्तृत अनुसन्धान भइरहेको थाई प्रहरीले जनाएको छ। देबसिरिन विद्यालय थाइल्यान्डका प्रतिष्ठित शैक्षिक संस्थामध्ये एक हो र यसका शाखाहरू देशका विभिन्न स्थानमा सञ्चालनमा रहेका छन्।
