तिबेटन स्टडिजसम्बन्धी सम्मेलन एकाएक स्थगित
काठमाडौं । आगामी भदौ ७ देखि १३ गतेसम्म काठमाडौंमा हुने भनिएको १७ औँ इन्टरनेसनल एसोसिएसन फर तिबेटन स्टडिज (आइएटीएस) सम्मेलन नहुने भएको छ ।
काठमाडौं विश्वविद्यालय स्थानीय आयोजक बनेको यो सम्मेलन हाललाई नगर्न मुख्यसचिव गोविन्दबहादुर कार्की र परराष्ट्र सचिव अमृतबहादुर राईले काठमाडौं विश्वविद्यालयका उपकुलपतिसहित पदाधिकारीलाई सोमबार सिंहदरबार बोलाएर निर्देशन दिएपछि सम्मेलन स्थगित गरिएको हो । काठमाडौं विश्वविद्यालयले आइएटीएस बोर्डसँग मिलेर यो सम्मेलन आयोजना गरेको थियो।
मुख्यसचिव कार्की र परराष्ट्र सचिव राईले काठमाडौं विश्वविद्यालयका निमित्त उपकुलपति ऋषिकेश वाग्ले, रजिस्ट्रार राजीव श्रेष्ठ र यो सम्मेलनको संयोजक समेत रहेका विश्वविद्यालयअन्तर्गतको हिमालय सेन्टर फर एसियन स्टडिज (हिकास) का निर्देशक सागरराज शर्मालाई सोमबार सिंहदरबारमा बोलाएर सो कार्यक्रम नगर्न निर्देशन दिएका हुन्।
‘हामीले सम्मेलनको सबै तयारी सरकारसँगको समन्वयमै गरिरहेका थियौँ,’ तिब्बत सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनको संयोजन गरिरहेका शर्माले भने, ‘मुख्यसचिवले नै परिस्थिति अलि अनुकुल नभएकाले अहिलेलाई सम्मेलन रोकौँ भनेपछि हामीले आइएटीएसको बोर्डलाई गर्न नसक्ने जानकारी दिएका छौँ।’
भनिन्छ, मित्रराष्ट्र चीनले सम्मेलनको औचित्यमाथि प्रश्न उठाउँदै कूटनीतिक तवरबाट आपत्ति जनाएपछि सम्मेलन एकाएक स्थगित भएको हो ।
