तराई-मधेशको अवस्था शान्ति र स्थिरतातर्फ, गाडी चल्न थाल्यो
काठमाडौं । सुनसरीको देवानगन्ज गाउँपालिका–३, कप्तानगन्जमा साउन १० गते भएको दुःखद घटनासँगै असामान्य बनेको पूर्वी तराईको जनजीवन शनिबारदेखि सामान्य बनेको छ । देवानगन्ज घटनामा दुई जनाको मृत्यु र बिस जनाभन्दा बढी घाइते भएपछि तनावग्रस्त बनेको पूर्वी तराईको वातावरण अहिले क्रमशः शान्त बन्दै गएको छ । मृतकको दाहसंस्कार सम्पन्न हुनु, नेपाल सरकार र स्थानीय समुदाय तथा पीडित परिवारबिच सहमति कायम हुनु, सुरक्षा व्यवस्थामा सुधार आउनु तथा राजनीतिक एवं सामाजिक तहबाट निरन्तर संवाद अगाडि बढाइएपछि जनजीवन पुरानै लयमा फर्किन थालेको हो ।
यसअघि स्थानीय बासिन्दामा देखिएको त्रास र अन्योलको वातावरण घट्दै गएको छ । स्थानीय बजार, यातायात, कृषि तथा दैनिक आर्थिक गतिविधि पुनः सञ्चालनमा आउन थालेका छन् । गृह मन्त्रालय, स्थानीय प्रशासन र सुरक्षा निकायले स्थिति सहज बनाई शान्तिसुरक्षा कायम गर्न गरेको प्रयासमा स्थानीय तहका जनप्रतिनिधि, राजनीतिक र सामाजिक पक्ष र विभिन्न समुदायले उल्लेखनीय रूपमा साथ दिएको गृहमन्त्रीका प्रमुख स्वकीय सचिव जेम्स कार्कीले बताउनुभयो ।
स्थिति सहज बन्दै गएपछि शनिबार बिहानदेखि स्थानीय प्रशासनले सुनसरीमा विगत पाँच दिनदेखि लगाएको कफ्र्यु हटाएको छ । यद्यपि सम्भावित जोखिमलाई ध्यानमा राखी जिल्लाका विभिन्न १० स्थानीय तहमा पाँच जनाभन्दा बढी व्यक्ति एकै स्थानमा भेला भई धर्ना, जुलुस, प्रदर्शन, सभासमेत गर्न नपाउने गरी आइतबार बिहान ९ बजेसम्मका लागि निषेधाज्ञा लागु गरिएको छ । प्रशासनले सुरक्षा संवेदनशील क्षेत्रहरूमा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल तथा अन्य सुरक्षा निकायको परिचालनलाई भने यथावत् राखेको छ ।
देवानगन्ज, हरिनगर, इनरुवा, दुहबी, बर्जु, कोशी गाउँपालिका, भोक्राहा नरसिंह, गढी तथा आसपासका बजार पुनः सञ्चालनमा आएका छन् । केही दिनदेखि सुनसान बनेका बजार क्षेत्रमा अहिले सर्वसाधारणको चहलपहल बढेको छ । किसानले खाद्यान्न, तरकारी, दुध तथा अन्य कृषि उत्पादन बजारसम्म ल्याउन थालेका छन् । दैनिक उपभोग्य सामग्री खरिद गर्न उपभोक्ताहरू सहज रूपमा बजार पुगिरहेका छन् ।
घटनापछि उत्पन्न तनाव नियन्त्रण गर्न नेपाल सरकारले उच्च प्राथमिकताका साथ समन्वयात्मक पहल अगाडि बढाएको थियो । प्रधानमन्त्रीसँग समन्वय गरी गृहमन्त्री सुधन गुरुङ स्वयं मोरङ, सुनसरी, सिराहा, धनुषालगायत जिल्ला पुगेर पीडित परिवार, स्थानीय जनप्रतिनिधि, सुरक्षा निकाय, नागरिक समाज, धार्मिक अगुवा तथा विभिन्न समुदायका प्रतिनिधिसँग पटक-पटक छलफल गर्नुभएको थियो । गृहमन्त्री गुरुङ र पीडित पक्षबिच भएको सहमतिपछि देवानगन्ज घटनाका मृतकहरूको सम्मानपूर्वक शवयात्रा निकालेर दाहसंस्कार सम्पन्न गरिएको थियो ।
घटनाको सत्यतथ्य पत्ता लगाउन गृह मन्त्रालयले गठन गरेको छानबिन समितिले घटनास्थल निरीक्षण, पीडित परिवारसँग भेटघाट, प्रत्यक्षदर्शीको बयान सङ्कलन तथा सुरक्षा निकायसँग आवश्यक विवरण लिने कामलाई अन्तिम चरणमा पु-याएको छ । समितिले घटनाका कारण, सुरक्षा व्यवस्थामा भएका कमजोरी तथा भविष्यमा यस्ता घटना दोहोरिन नदिन आवश्यक सुझावसहित प्रतिवेदन सरकारलाई बुझाउने तयारी गरिरहेको समितिका संयोजक भूपेन्द्र थापाले जानकारी दिनुभयो ।
देवानगन्ज घटनापछि उत्पन्न असहज परिस्थितिलाई सामान्य बनाउन राजनीतिक तहमा पनि सक्रियता बढेको थियो । प्रधानमन्त्रीको पहल र सक्रियतासँगै विभिन्न राजनीतिक दलका नेताहरूले संयमता अपनाउन, सामाजिक सद्भाव कायम राख्न र कानुनी प्रक्रियामाथि विश्वास गर्न आग्रह गरेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले केन्द्रीय तहबाट विभिन्न राजनीतिक दल, धार्मिक अगुवा तथा समुदायका प्रतिनिधिसँग संवाद र समन्वय गरी असामान्य स्थितिमा सुधार ल्याउन पहल गर्नुभएको थियो ।
सुनसरीका प्रमुख जिल्ला अधिकारी ईश्वरीप्रसाद अर्यालले शनिबार अपराह्न इनरुवामा आयोजित पत्रकार भेटघाटमा जिल्लाको सुरक्षा अवस्था नियन्त्रणमा रहेको जानकारी दिनुभयो । सामाजिक सञ्जालमार्फत अफवाह फैलाउने तथा सामाजिक सद्भाव बिगार्ने गतिविधिमाथि निगरानी बढाइएको उहाँको भनाइ छ । सर्वसाधारणलाई पूर्ण रूपमा शान्तिसुरक्षाको प्रत्याभूति दिलाउने विषयमा स्थानीय प्रशासन प्रतिबद्ध रहेको बताउँदै उहाँले निषेधाज्ञा जारी रहेको समयमा शान्तिपूर्ण तरिकाले स्थानीय बजारमा चहलपहल बढेको, यातायात सुचारु हुँदै जनजीवन सामान्य बन्दै गएको बताउनुभयो ।
सुनसरीसँगै मोरङ, सिराहा, धनुषालगायत पूर्वी तराईका जिल्लामा पनि सुरक्षा सतर्कता कायम राखिए पनि दैनिक जनजीवन सामान्य बन्दै गएको छ । सिराहाका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले जिल्लाको गोलबजार, लाहान, सिराहा बजारलगायत सबै क्षेत्रमा लगाइएको कफ्र्यु हटाइएपछि जिल्लाको जनजीवन सामान्य बन्दै गएको बताउनुभयो । उहाँका अनुसार छिटपुट रूपमा स्थानीय बजारका पसलहरू खुलेका छन् भने सडकमा सिटी सफारी र निजी सवारीसाधान सञ्चालनमा आएका छन् ।
प्रजिअ पौडेलले व्यापारिक गतिविधि विस्तारै पुरानै अवस्थामा फर्किरहेको र कृषि उत्पादनको ढुवानी तथा बिक्रीवितरणमा समेत सहजता आएको जानकारी दिनुभयो । सप्तरीको सदरमुकाम राजविराजलगायत केही स्थानमा स्थानीय प्रशासनले लगाएको कर्फ्युलाई शनिबार पनि निरन्तरता दिइएको छ । सप्तरीका प्रमुख जिल्ला अधिकारी रामकृष्ण थापाले स्थानीय प्रशासनले जिल्लामा शान्तिसुरक्षा कायम राख्न उच्च सतर्कता अपनाउँदै संवेदनशील क्षेत्रमा निगरानी बढाएको बताउनुभयो ।
