नेपाल-भारतको संयुक्त फुट पेट्रोलिङ

काठमाडौं । भारत–नेपाल सीमा क्षेत्रमा शान्ति सुरक्षा, सीमा व्यवस्थापन तथा दुई देशका सुरक्षा निकायबीचको समन्वयलाई थप सुदृढ बनाउने उद्देश्यले शुक्रबार संयुक्त पैदल गस्ती (फुट पेट्रोलिङ) गरिएको छ ।

भारतको बहराइच जिल्लाअन्तर्गत रुपैडिहा क्षेत्र र नेपालतर्फको सीमा क्षेत्रमा भारतको सशस्त्र सीमा बल (एसएसबी), उत्तर प्रदेश प्रहरी, नेपाल प्रहरी तथा सशस्त्र प्रहरी बल (एपीएफ) को सहभागितामा संयुक्त गस्ती सम्पन्न भएको हो ।

संयुक्त गस्तीमा भारततर्फबाट एसएसबी ४२औँ वाहिनी नानपाराका असिस्टेन्ट कमान्डेन्ट अमित कुमार र रुपैडिहा प्रहरीका प्रभारी निरीक्षक हरिन्द्र कुमार मिश्र सहभागी हुनुहुन्थ्यो । नेपालतर्फबाट सशस्त्र प्रहरी बलका उपरीक्षक तिर्थराज न्यौपाने, निरीक्षक डम्बर साउद, नेपाल प्रहरीका निरीक्षक गणेश गिरी तथा सहायक प्रहरी निरीक्षक बदलीराम चौहानको सहभागिता रहेको थियो ।

गस्तीका क्रममा सीमा क्षेत्रको सुरक्षा अवस्था, कानून तथा शान्ति व्यवस्था कायम राख्ने, अवैध गतिविधि नियन्त्रण गर्ने तथा दुवै देशका सुरक्षा निकायबीच सूचना आदान–प्रदान र नियमित संयुक्त गस्तीलाई प्रभावकारी बनाउने विषयमा विशेष जोड दिइएको जनाइएको छ ।

सुरक्षा अधिकारीहरूले सीमा क्षेत्रमा बसोबास गर्ने नागरिकलाई शान्ति, सद्भाव र भाइचारा कायम राख्न, कानूनको पालना गर्न तथा कुनै पनि शंकास्पद गतिविधि देखिएमा तत्काल सम्बन्धित सुरक्षा निकायलाई जानकारी गराउन आग्रह गरेका थिए ।

सौहार्दपूर्ण वातावरणमा सम्पन्न संयुक्त पैदल गस्तीले नेपाल र भारतका सुरक्षा निकायबीच आपसी विश्वास, समन्वय र सीमा सुरक्षालाई अझ प्रभावकारी बनाउने विश्वास व्यक्त गरिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर