सप्तरीको बोदेबरसाइन क्षेत्रमा कर्फ्यु आदेश
काठमाडौं । सप्तरीको बोदेबरसाइन नगरपालिका क्षेत्रमा शान्ति–सुरक्षा कायम राख्न जिल्ला प्रशासन कार्यालय सप्तरीले अर्को आदेश नभएसम्मका लागि कर्फ्यु आदेश जारी गरेको छ।
जिल्ला सुरक्षा समितिको बिहीबार राति बसेको बैठकको निर्णयअनुसार स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (१) बमोजिम प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापाले कर्फ्यु आदेश जारी गर्नुभएको हो।
यसैबीच जिल्ला प्रशासन कार्यालय धनुषाद्वारा जारी सूचनाअनुसार कर्फ्यु क्षेत्रको पूर्वी सीमा हुलाकी राजमार्गस्थित खडक पुल, पश्चिममा पृतमपुर चोक, उत्तरमा नेङ्गडा चोक र दक्षिणमा मानराजा चोकसम्म तोकिएको छ।
प्रशासनका अनुसार कर्फ्यु आदेश बिहीबार राति १० बजेदेखि अर्को आदेश जारी नभएसम्म लागू रहनेछ। जिल्ला प्रशासन कार्यालयले कर्फ्यु आदेशको उल्लङ्घन गरी कुनै पनि गतिविधि गरे, गराए वा गराइएको पाइएमा प्रचलित कानुनबमोजिम कारबाही गरिने चेतावनी दिएको छ।
जिल्ला प्रशासन कार्यालयले जनकपुरधाम क्षेत्रमा जारी कर्फ्यु आदेश कायम रहेको जनाउँदै अहिले ६ देखि ८ बजेसम्म अत्यावश्यक सामग्री खरिद गर्न घरबाट बाहिर निस्कन पाइने बताएको छ ।
कर्फ्युका बेला अस्पताल, फार्मेसी, हवाई सेवा, ग्यास आपूर्ति, पेट्रोलियम ढुवानी तथा बिक्री, एम्बुलेन्स, दमकल, शववाहन, पानी तथा दूध बोकेका सवारी साधनलगायतका अत्यावश्यक सेवाहरू सुचालु रहने छन् ।
त्यसैगरी, स्वास्थ्यकर्मी, सरकारी कर्मचारी, सञ्चारकर्मी, रेडक्रसकर्मी, तीर्थयात्री, बिरामी, विमानस्थल आउजाउ गर्ने यात्रीलाई सम्बन्धित निकायबाट जारी भएको परिचयपत्र, हवाई टिकटका आधारमा आवतजावत गर्न दिइने छ ।

