गृहमन्त्री गुरुङप्रति रास्वपाका मधेशी सांसदको संशय
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीमा मधेश प्रदेशबाट प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने सांसदहरूले आफ्नै पार्टीका गृहमन्त्री सुधन गुरुङको भूमिकामा असन्तोष व्यक्त गरेका छन् । पार्टी सभापति रवि लामिछानेलाई आज बिहीबार उनीहरूले भेटेर मधेशमा साम्प्रदायिक दंगा फैलिरहँदा गृहमन्त्री गुरुङले मधेशका आफ्नै सांसदहरूसँग सहगोग र समन्वय नगरेको गुनासो गरेका छन् ।
सभापति लामिछानेसँगको भेटमा सहभागी मधेशका एक सांसदले भने, ‘सुनसरीबाट सुरु भएको घटना अहिले मधेशमा फैलिएको छ । त्यहाँका जिल्लाका सांसदसँग गृहमन्त्रीले कुराकानी पनि गर्नुभएको छैन । सभापतिलाई गृहमन्त्रीप्रतिको आक्रोश राख्यौं ।’
सभापति लामिछानेले पछिल्लो घटना संवदेनशील भएको बतायँदै आएको र आपसी सद्भाव कायम राख्न आफूनै मधेश जाने सोचाइमा रहेको भेटमा संलग्न ती एक सांसदले बताए । स्मरणीय छ, प्रतिनिधिसभामा मधेश प्रदेशमा ३२ सिटमध्ये रास्वपाले ३१ सिट जिेको थियो ।
