सिरहाको गोलबजारमा गोली लागेर एक जनाको मृत्यु
काठमाडौं । सिरहाको गोलबजारमा गोली लागेर एक जनाको मृत्यु भएको छ । कर्फ्यू आदेशबीच दुई पक्षबीच झडप बढ्दै जाँदा प्रहरीको गोली लागेर एक जनाको मृत्यु भएको हो । हाल यहाँको अवस्था तनावग्रस्त बनेको छ । मृत्यु हुने व्यक्ति गणेश यादव रहेको खुलेको छ ।सुनसरीको कप्तानगञ्जमा घटेको घटनाको प्रभाव सर्लाहीमा दुई समूहबीच भएको झडपले उग्र रूप लिँदा ११ वटाभन्दा बढी मोटरसाइकलमा आगजनी भएको छ र ती सबै पूर्ण रूपमा जलेर नष्ट भएका छन्।
घटनास्थलमा सिरहाको गोलबजार नगरपालिकाबाट ल्याइएको दमकलको सहायताले आगो नियन्त्रणमा लिइएको छ। तनावग्रस्त क्षेत्रमा स्थिति नियन्त्रणमा लिन स्थानीय प्रशासनले कर्फ्यु आदेश जारी गरे पनि सडकमा प्रदर्शन अझै रोकिएको छैन।
सिरहाको गोलबजार क्षेत्रमा स्थानीय प्रशासनले अनिश्चितकालीन कर्फ्यु जारी गरेको छ। जिल्ला प्रशासन कार्यालय सिरहाले सुरक्षा अवस्था संवेदनशील बनेको भन्दै जिल्ला सुरक्षा समितिको निर्णयअनुसार कर्फ्यु आदेश लागू गरिएको जनाएको छ। प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलद्वारा जारी आदेशअनुसार बिहीबार दिउँसो २ बजेदेखि अर्को आदेश जारी नभएसम्म गोलबजार नगरपालिकाको तोकिएको क्षेत्रमा कुनै पनि प्रकारको आवतजावत, सभा, प्रदर्शन तथा जमघट गर्न रोक लगाइएको छ।
