कप्तानगञ्ज घटनामा मर्नेको संख्या दुई, जनकपुरमा कर्फ्यु, लहानमा हवाई फायर

काठमाडौं । सुनसरीको कप्तानगञ्ज घटनाको प्रभाव सिरहाको लहान बजार  र जनकपुरसम्म पुगेको छ। लहानमा बिहीबार दिउँसो घटनाको विरोधमा प्रदर्शन भएपछि लहानमा तनावपूर्ण अवस्था सिर्जना भएको हो। प्रदर्शनका क्रममा झडप हुन सक्ने अवस्था देखिएपछि सुरक्षाकर्मीले स्थिति नियन्त्रणमा लिन केही राउन्ड हवाई फायर गरेका छन्।

जिल्ला प्रशासन कार्यालय, सिरहाका सहायक प्रमुख जिल्ला अधिकारी चेतराज बरालका अनुसार अवस्था नियन्त्रणमा लिन हवाई फायर गर्नुपरेको हो। उनले लहान बजार क्षेत्रमा ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको र आवश्यक परे कर्फ्यु आदेश जारी गर्ने तयारी भइरहेको जानकारी दिए।

यसअघि सिरहाको गोलबजार क्षेत्रमा पनि सुरक्षा अवस्था बिग्रिएपछि बिहीबार दिउँसो २ बजेदेखि अर्को आदेश नभएसम्मका लागि कर्फ्यु आदेश जारी गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ। प्रशासनले सर्वसाधारणलाई अफवाहमा नलाग्न, शान्ति र सद्भाव कायम राख्न तथा सुरक्षा निकायको निर्देशन पालना गर्न आग्रह गरेको छ।

यसैबिच देवानगञ्ज गाउँपालिका–३ मा आइतjfर राति भएको हिंसात्मक घटनामा प्रहरीको गोली लागेर घाइते भएका अर्का एक युवकको उपचारका क्रममा मृत्यु भएको छ । यससँगै उक्त घटनामा ज्यान गुमाउनेको संख्या दुई पुगेको छ । प्रहरीका अनुसार विराटनगरस्थित न्यूरो अस्पतालमा उपचाररत देवानगञ्ज–३ निवासी २२ वर्षीय जयप्रकाश मेहताको बिहीवार दिउँसो १ः२४ बजे उपचारकै क्रममा मृत्यु भएको हो । चिकित्सकले उनलाई सोही समयमा मृत घोषणा गरेका थिए ।

यसअघि सोही घटनामा प्रहरीको गोली लागेर देवानगञ्ज–३ कै २४ वर्षीय ओमप्रकाश मेहताको मृत्यु भएको थियो । जयप्रकाशको निधनसँगै घटनामा मृत्यु हुनेको संख्या दुई पुगेको हो ।

घटनामा गोली लागेर घाइते भएका अन्य आठ जनाको विराटनगरस्थित न्यूरो अस्पताल, विराट नर्सिङ होम तथा नोबेल शिक्षण अस्पतालमा उपचार भइरहेको कोशी प्रदेश प्रहरीले जनाएको छ ।

देवानगञ्जमा भएको उक्त घटनामा सुरक्षाकर्मीसहित २२ जनाभन्दा बढी व्यक्ति घाइते भएका थिए । स्थानीय विवादपछि उत्पन्न तनाव हिंसात्मक बनेपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले गोली चलाएको थियो । घटनाबारे विस्तृत अनुसन्धान जारी रहेको र दोषीमाथि कानुनी कारबाही प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ ।

यसैबीच, सुनसरी घटनापछि विभिन्न स्थानमा बढ्दो तनाव र सम्भावित सुरक्षा चुनौतीलाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालय धनुषाले जनकपुरधामका विभिन्न क्षेत्रमा अनिश्चितकालीन कर्फ्यू आदेश जारी गरेको छ ।

बिहीवार जिल्ला प्रशासन कार्यालयमा बसेको जिल्ला सुरक्षा समितिको बैठकको निर्णयअनुसार जनकपुरधामका तोकिएका क्षेत्रमा दिउँसो ३:३० बजेदेखि अर्को आदेश नभएसम्मका लागि कर्फ्यू लागू गरिएको हो ।

जिल्ला प्रशासन कार्यालयले शान्ति–सुरक्षा कायम राख्न, साम्प्रदायिक सद्भाव जोगाउन तथा सम्भावित अप्रिय घटना रोक्न कर्फ्यू आदेश जारी गरिएको जनाएको छ । प्रशासनले कर्फ्यू लागू हुने क्षेत्रको विस्तृत सीमा र अन्य विवरण छुट्टै सूचनामार्फत सार्वजनिक गरिने जानकारी दिएको छ ।

सुरक्षा निकायलाई उच्च सतर्कतामा राखिएको जनाउँदै प्रशासनले सर्वसाधारणलाई अफवाहमा विश्वास नगर्न, सामाजिक सञ्जालमा भ्रामक सूचना नफैलाउन तथा सुरक्षा निकायसँग आवश्यक सहयोग गर्न आग्रह गरेको छ ।

पूर्वी तराईका केही जिल्लामा पछिल्ला दिनहरूमा बढ्दो तनावका कारण सुरक्षा व्यवस्था कडा पारिएको छ भने स्थानीय प्रशासनले शान्ति, सद्भाव र कानुनी व्यवस्था कायम राख्न आवश्यक सबै उपाय अपनाइरहेको जनाएको छ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर