डा. गोविन्द केसी र सरकारी टोलीबिच आठ बुँदे सहमति हुँदै

काठमाडौं ।  अनशनरत प्राध्यापक डा. गोविन्द केसी र सरकारी टोलीबिच भएको वार्ताबाट आठ बुँदे सहमतिको मस्यौदा तयार पारिएको छ ।

आइतबार सहमति हुन नसकेपछि आज फेरि भएको वार्ताबाट दुवै पक्षले आठ बुँदे सहमतिको मस्यौदा तयार पारेको हो । मस्यौदा अनुमोदनको लागि प्रधानमन्त्री बालेन्द्र शाह र शिक्षा मन्त्री सस्मित पोेखरलेलाई पठाइएको छ ।

वार्ता टोलीले सरकारको जवाफ पर्खिरहेको डा. केसीका सहयोगी एवम् वार्ता टोलीका सदस्य डा. अमृत जैसीले जानकारी दिनुभयो । मोटामोटी सहमति भए पनि त्यसमा हस्ताक्षर हुन बाँकी रहेको भन्दै उहाँले थप्नुभयो,“आठ बुँदेमध्ये केही थपघट पनि हुन सक्छ ।”

सरकारी टोली र डा. केसीबिच शहिद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा चालु आर्थिक वर्षमै ३०० शय्याको अस्पताल सञ्चालन गर्ने, चालु आर्थिक वर्षमै एमबिबिएस पठनपाठन सञ्चालन गर्ने सहमति भएको मस्यौदा तयार पारिएको छ ।

यसैगरी, रजिस्ट्रार डा. भीमबहादुर चन्दलाई पदमुक्त गर्ने र उपकुलपति डा. सुनिलकुमार जोशीलाई यथावत राखेर ऐनमा स्वार्थ बाझिने व्यवस्थाका प्रावधान हटाउने लगायतका विषयमा सहमतिको मस्यौदा तयार पारेर पठाइएको छ ।

केसीले पाँच बुँदे माग राख्दै धनगढीमा अनशन गरिरहनू भएको छ । राष्ट्रिय चिकित्सा शिक्षा ऐन अनुसार चिकित्सा शिक्षालाई पूर्ण गैरनाफामूलक बनाउने कानुनी व्यवस्था तत्काल कार्यान्वयन गर्नु पर्ने, शहीद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयका पदाधिकारी (उपकुलपति र रजिस्ट्रार) नियुक्ति बदर गर्नु पर्ने उहाँको माग छ ।

यसैगरी, डा. केसीले चिकित्सा शिक्षा आयोगमार्फत छात्रवृत्ति कटौती गर्ने र मापदण्ड तथा पूर्वाधारबिना निजी कलेजहरुमा सिट वृद्धि गर्ने निर्णय वा प्रस्ताव तत्काल खारेज गर्नु पर्ने, जेनजी आन्दोलनमा भएका जघन्य हत्या, आगजनी, लुटपाट र विनाशका दोेषीहरुलाई कडा कारबाही गर्नु पर्ने, २०४६ देखि हालसम्म उच्च पदस्थ राजनीतिज्ञ, पदाधिकारीबाट भएका भ्रष्टाचार एवम् अपराधको निष्पक्ष छानबिन गरी दोषीमाथि कारबाही गर्नु पर्ने लगायतका माग अगाडि सार्नु भएको थियो ।

वार्तामा सरकारको तर्फबाट प्रधानमन्त्रीका स्वास्थ्य सल्लाहकार डा. जेपी अग्रवाल, स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका सचिव डा. विकास देवकोटा, शिक्षा सचिव चूडामणि पौडेल सहभागी हुनुहुन्छ ।

यसैगरी, अनशरत डा. केसीको पक्षबाट डा. पवन थापा र अमृत जैसीले प्रतिनिधित्व गरिरहनू भएको छ ।  आफूले अगाडि सारेको माग सरकारले साउन ५ गतेसम्म सम्बोधन नगरेपछि डा. केसीले ७ गतेदेखि धनगढीमा अनशन गरिरहनू भएको छ ।

सुरुमा धनगढीको कृष्ण मन्दिरको धर्मशालामा अनशन बस्नु भएका केसीको स्वास्थ्य अवस्था जटिल बन्न थालेपछि शनिबार सेती प्रादेशिक अस्पतालमा सारिएको थियो । उहाँको सघन उपचार कक्ष (आइसीयु) मा उपचार भइरहेको छ । सहमतिपत्रमा हस्ताक्षर भएपछि केसीले अनशन तोड्ने जनाइएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर