मनसुनी वायु प्रभाव : भारी वर्षाको सम्भावना
काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा नेपालको पश्चिम भू–भागमा सरदरभन्दा उत्तरतर्फ तथा पूर्वी भू–भागमा सरदर स्थानको आसपासमा छ । देशभर साधारणतया बादल लागेको छ ।
कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । गण्डकी, लुम्बिनी र कर्णालीका पहाडी भू–भागको एक/दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । आज दिउँसो हिमाली र पहाडी भू–भागमा साधारणतया बादल लाग्नेछ । बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू–भागमा पनि साधारणतया बादल लाग्नेछ ।
मधेश र कोशीको तराई भू–भागमा आंशिक बादल लाग्नेछ । देशका हिमाली र पहाडी भू–भागका केही स्थानमा मेघगर्जन तथा चट्याङसहित मध्यमसम्मको वर्षा/हिमपातको सम्भावना छ । बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका थोरै स्थान तथा मधेस प्रदेश र कोशी प्रदेशको तराई भू–भागका एक/दुई स्थानमा मेघगर्जन तथा चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ ।
