अमेरिका–साउदीबिच परमाणु सम्झौता
काठमाडौं । संयुक्त राज्य अमेरिका र साउदी अरबले परमाणु ऊर्जा कार्यक्रम विकास सम्झौतामा हस्ताक्षर गरेका छन् । अमेरिकी ऊर्जा विभागका अनुसार यो ‘शान्तिपूर्ण परमाणु सहयोग सम्झौता’ हो । यसअन्तर्गत अमेरिकी कम्पनीहरूलाई साउदी अरबको परमाणु ऊर्जा कार्यक्रममा ठूलो पहुँच र काम गर्ने अवसर प्रदान गर्ने बीबीसीले उल्लेख गरेकाे छ ।
सम्झौताको पूर्ण विवरण सार्वजनिक गरिएको छैन । तर, अमेरिकी सञ्चारमाध्यमहरूको रिपोर्टअनुसार भविष्यमा यस सम्झौताअन्तर्गत साउदी अरबलाई युरेनियम संवर्द्धन गर्ने अनुमति दिन सकिने सम्भावना छ । संवर्द्धित युरेनियम परमाणु विद्युत् केन्द्रका लागि इन्धनका रूपमा प्रयोग गरिन्छ । तर, यही प्रविधि परमाणु बम निर्माणका लागि पनि प्रयोग गर्न सकिन्छ ।
विशेषज्ञहरूका अनुसार यदि यस्तो अनुमति दिइयो भने यो अमेरिकाको इतिहासमै पहिलो घटना हुनेछ । यसले पहिलेदेखि नै अस्थिर रहेको पश्चिम एसियामा परमाणु हतियारको प्रसारको जोखिम थप बढाउन सक्छ ।
अमेरिकी ऊर्जा विभागले आणविक सहयोग सम्झौताका साथै द्विपक्षीय सुरक्षा उपायसम्बन्धी सम्झौतामा पनि हस्ताक्षर गरिएको जनाएको छ । विभागले जारी गरेको वक्तव्यमा भनिएको छ, ‘यी दुई सम्झौताले मिलेर दशकौँसम्म चल्ने, अर्बौं डलर बराबरको साझेदारीका लागि कानुनी आधार तयार गरेका छन्, जसले परमाणु अप्रसारसहित धेरै आर्थिक र रणनीतिक प्राथमिक उद्देश्यलाई अघि बढाउँछ ।’
