बीपी र कान्तिमा राति सवारी चलाउन रोक
काठमाडौं । अविरल वर्षा, बाढी र पहिरोका कारण उत्पन्न उच्च जोखिमका कारण देशका विभिन्न भागका प्रमुख राजमार्ग तथा सडकखण्डहरू प्रभावित भएका छन्। नेपाल प्रहरीले सार्वजनिक गरेको पछिल्लो विवरणअनुसार यात्रामा सुरक्षा अपनाउन विभिन्न रुटहरूमा यातायात सञ्चालनमा रोक लगाइएको छ र कतिपय स्थानमा सडक पूर्ण रूपमा अवरुद्ध बनेका छन्।
काभ्रेपलाञ्चोक र सिन्धुली जोड्ने बिपी राजमार्गको खुर्कोट–नेपालथोक–कटुन्जेबेँसी खण्डमा सम्भावित बाढीको जोखिमलाई दृष्टिगत गर्दै अर्को सूचना नभएसम्म हरेक दिन बेलुका ६ः०० बजेदेखि बिहान ४ः०० बजेसम्म सबै प्रकारका सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ। त्यसैगरी, मकवानपुरको कान्तिलोकपथमा पनि वर्षाका कारण अर्को सूचना जारी नभएसम्म बेलुका ५ः०० बजेदेखि बिहान ५ः०० बजेसम्म सबै प्रकारका सवारीसाधन सञ्चालनमा निषेध गरिएको छ।
यसैबीच, इलाम नगरपालिका–९ राजदुवालीस्थित मेची राजमार्गमा वर्षाका कारण सडक हिलाम्मे भएपछि उक्त सडकखण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ। सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–४ जिरोकिलो र गाउँपालिका–२ कोदारीस्थित अरनिको राजमार्गमा पनि पहिरोले सडक पूर्ण रूपमा बन्द गराएको छ।
बागलुङको जैमिनी नगरपालिका–८ बेलबगरस्थित कालीगण्डकी करिडोर, पाँचथरको मिक्लाजुङ गाउँपालिका–४ कोप्चेस्थित राँके–रवि–भेडेटार सडक र गोरखाको धार्चे गाउँपालिका–७ लिदिङस्थित आरुघाट–माछिखोला सडक पनि पहिरोका कारण अवरुद्ध भएका छन्। यसैगरी, ललितपुरको बागमती गाउँपालिका–३ पाङ्दुरस्थित कान्तिलोकपथमा आज बिहान सुक्खा पहिरो खसेपछि सडक पूर्ण रूपमा बन्द भएको प्रहरीले जनाएको छ।
