साप्ताहिक दुईदिने बिदाको पुनरावलोकन हुने

काठमाडौं । सरकारले हाल कायम रहेका सार्वजनिक बिदाहरूको पुनरावलोकन गर्न कार्यदल गठन गर्ने निर्णय गरेको छ। हप्तामा शनिबार र आइतबार दुई दिन सार्वजनिक बिदा लागू भएपछि अन्य सार्वजनिक बिदाको संख्या, आवश्यकता र औचित्यको अध्ययन गर्न कार्यदल गठन गर्ने निर्णय गरिएको हो।

मुख्यसचिव गोविन्दबहादुर कार्कीको अध्यक्षतामा सोमबार बसेको सचिवहरूको बैठकले गृह मन्त्रालयका सहसचिवको संयोजकत्वमा कार्यदल गठन गर्ने निर्णय गरेको हो। कार्यदलमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र अर्थ मन्त्रालयका प्रतिनिधि रहनेछन्।

बैठकले कार्यदललाई १५ दिनभित्र सार्वजनिक बिदासम्बन्धी अध्ययन तथा पुनरावलोकन गरी प्रतिवेदन तयार गर्न निर्देशन दिएको छ। तयार पारिएको प्रतिवेदन गृह मन्त्रालयमा पेस गरिनेछ। सरकारले दुईदिने साप्ताहिक बिदा लागू भएपछि त्यसले सेवा प्रवाह, सरकारी कार्यसम्पादन र प्रशासनिक प्रभावकारितामा पारेको प्रभावलाई मूल्याङ्कन गर्दै वर्षभरि दिइने अन्य सार्वजनिक बिदालाई समयानुकूल र व्यवस्थित बनाउने उद्देश्यले कार्यदल गठन गरेको जनाएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर