कञ्चनपुरमा च्याउ खोज्न गएका १४ महिला सम्पर्कविहीन
काठमाडौं । कञ्चनपुरमा च्याउ खोज्न शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज प्रवेश गरेका १४ महिला सम्पर्कविहीन भएका छन्। भीमदत्त नगरपालिका–१९, बागफाँटाका उनीहरू आइतबार बिहान निकुञ्ज प्रवेश गरेपछि सम्पर्कमा आउन सकेका छैनन् । बिहान करिब ११ बजे निकुञ्ज प्रवेश गरेका महिलाहरू दिउँसोदेखि रातिसम्म सम्पर्कविहीन भएपछि परिवारले खोजीका लागि प्रहरीलाई आग्रह गरेका छन्।
पछिल्लो समय जङ्गलमा च्याउ खोज्न मानिसहरू बिहानै निकुञ्ज तथा वन क्षेत्रमा जाने गरेका छन्। अनुमति बिना निकुञ्ज प्रवेश गरेका बागफाँटाका महिलाहरू सम्पर्कविहीन भएपछि खोजी कार्य सुरु गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक टेकबहादुर रावतले जानकारी दिनुभयो।
उहाँका अनुसार सम्पर्कविहीन हुनेमा बागफाँटाका कनी चौधरी, सविता चौधरी, सानी चौधरी, सकिया चौधरी, रमा चौधरी, लक्ष्मी चौधरी, मनीषा चौधरी, रिता चौधरी, सुनिता चौधरी, विमला आग्री, सुमित्रा सुनार, शान्ति सुनार, प्रतीक्षा सुनार र सिवानी सुनार रहेका छन्।
शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज कार्यालयका अनुसार आइतबार बिहान अनुमति नलिई उनीहरू दुई समूहमा च्याउ खोज्न निकुञ्जको मालुमेला पोस्टबाट प्रवेश गरेका थिए।
गत असार १५ गतेदेखि प्रतिकूल मौसमका कारण निकुञ्ज प्रवेशमा रोक लगाइएको थियो। अनुमति बिना प्रवेश गरेका कारण उनीहरूको सुरक्षाबारे यकिन गर्न नसकिने निकुञ्जका प्रमुख चन्द्रशेखर चौधरीले बताउनुभयो। उहाँका अनुसार नेपाली सेना, नेपाल प्रहरी र निकुञ्जको टोलीले हात्तीसहित सम्पर्कविहीन महिलाहरूको खोजी गरिरहेको छ।
