कालीकोटमा पहिरोले पुरिँदा दुई जनाको मृत्यु
काठमाडौं । कालीकोटको सान्नीत्रिवेणी गाउँपालिकामा पहिरोले घट्ट पुरिँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ।
सान्नीत्रिवेणी गाउँपालिका वडा नम्बर ६ काप्रीखोलास्थित घट्टमा आज सोमबार दिउँसो अन्दाजी १ः३० बजेको समयमा बसिरहेका दुई जनाको पहिरोमा पुरिएर मृत्यु भएको हो। मृत्यु हुनेमा सोही वडा न ६ को धामीगाउँ बस्ने वर्ष ४६ का मन्दिर साउद र वर्ष ७६ का लालबहादुर साउद हुनुहुन्छ ।
प्रहरीका अनुसार उहाँहरू आज बिहान ६ बजे काप्रिखोलामा रहेको घट्टमा अन्न पिस्न जानू भएको थियो । घट्टमा बसिरहेको अवस्थामा माथिबाट अन्दाजी २५ मिटर टाढाबाट खसेको पहिरोले घट्टको आधा भागसहित उनीहरूलाई पुरेको थियो। प्रहरीद्वारा उद्धार, थप अनुसन्धान जारी घटनाबारे स्थानीयबासीले जानकारी गराएलगत्तै प्रहरी चौकी मेहलमुडीबाट प्रहरी सहायक निरीक्षक कृष्ण बहादुर खड्काको कमान्डमा चार जनाको टोली दिउँसो २ बजे घटनास्थल पुगेको थियो।
प्रहरी टोलीले पहिरोमा पुरिएका दुवै जनालाई उद्धार गरी निकाले पनि उनीहरूको घटनास्थलमै मृत्यु भइसकेको प्रहरीले जनाएको छ। घटनास्थल प्रहरी चौकी मेहलमुडीबाट १० किलोमिटर पश्चिम दूरीमा पर्दछ।
घटनाको थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय कालीकोटका प्रमुख, प्रहरी नायब उपरीक्षक हिमबहादुर खत्रीको कमान्डमा पाँच जनाको विशेष प्रहरी टोली घटनास्थलतर्फ खटिएको छ। मृतकको शव हाल घटनास्थलमै रहेको र घटनाबारे थप विवरण आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यलय कालीकोटले जनाएको छ।
