बाढीपहिरोको असर : प्रमुख राजमार्गहरू अवरुद्ध

काठमाडौं ।  देशभर निरन्तर भइरहेको वर्षासँगै आएको बाढी र पहिरोले प्रमुख राजमार्गहरू अवरुद्ध हुँदा यात्रुहरू बीच बाटोमै अलपत्र पर्न थालेका छन्। कोशी, वागमती, गण्डकी र लुम्बिनी प्रदेशका दर्जनौं सडक खण्ड पूर्ण वा आंशिक रूपमा बन्द भएका छन् भने गृह मन्त्रालयले पछिल्लो एक सातामै ५६ स्थानका लागि उच्च सतर्कता जारी गरेको छ।

गृह मन्त्रालयको विपद् पोर्टलका अनुसार असार २२ देखि २९ गतेसम्म बाढी, पहिरो, भारी वर्षा र सडक अवरोधका घटना तीव्र रूपमा बढेका छन्। असार २९ गते बिहान ६ः३० बजेसम्मको विवरणअनुसार अरनिको राजमार्ग, कान्ति लोकपथ, मदन भण्डारी राजमार्ग, घोरही–रुकुम शहीद मार्ग, सालझण्डी–ढोरपाटन सडकसहितका महत्वपूर्ण सडकहरू पूर्ण रूपमा अवरुद्ध छन्।

सबैभन्दा बढी असर वागमती र लुम्बिनी प्रदेशमा परेको छ। सिन्धुपाल्चोकको कोदारी क्षेत्रमा पहिरो खस्दा अरनिको राजमार्ग बन्द भएको छ भने मकवानपुरको भिमफेदीस्थित भ्यारडेडाँडामा गएको पहिरोका कारण कान्ति लोकपथ अवरुद्ध छ। काभ्रेको विपी राजमार्गअन्तर्गत खुर्कोट–नेपालथोक–कटुञ्जेबेंसी खण्डमा सम्भावित बाढीको जोखिमलाई मध्यनजर गर्दै सम्पूर्ण सवारी सञ्चालन रोकिएको छ।

लुम्बिनी प्रदेशमा गुल्मीको काउले क्षेत्रमा पहिरोले मदन भण्डारी राजमार्ग बन्द गराएको छ। रोल्पाको परिवर्तन गाउँपालिकामा पहिरो खस्दा घोरही–रुकुम शहीद मार्ग अवरुद्ध भएको छ भने अर्घाखाँचीको ढुङ्ग्रेखोलामा पहिरो जाँदा सालझण्डी–ढोरपाटन सडकसमेत पूर्ण रूपमा बन्द भएको छ। पाल्पाको सिद्धार्थ राजमार्ग भने एकतर्फी सञ्चालनमा रहेको छ।

कोशी प्रदेशमा इलामको राजदुवाली क्षेत्रमा लगातारको वर्षाले मेची राजमार्ग अवरुद्ध भएको छ। वैकल्पिक मार्गबाट सवारी सञ्चालन गरिए पनि यात्रा जोखिमपूर्ण बनेको छ। भोजपुरको बोखिम क्षेत्रमा मध्यपहाडी लोकमार्ग बाढीले क्षति पुर्‍याएपछि एकतर्फी मात्र सञ्चालन भइरहेको छ।

गण्डकी प्रदेशको कास्कीस्थित ज्याम्दु क्षेत्रमा गएको पहिरोका कारण पोखरा–ताङतिङ सडक खण्ड अझै सञ्चालनमा आउन सकेको छैन।

गृह मन्त्रालयको रियल–टाइम विपद् प्रणालीअनुसार पछिल्लो २४ घण्टामै कैलाली, सुनसरी, रुपन्देही, पर्वत र मुगुसहित विभिन्न जिल्लामा नयाँ बाढी तथा सडक अवरोधका घटना दर्ता भएका छन्। कैलालीको कैलारी गाउँपालिका, सुनसरीको इटहरी, रुपन्देहीको सैनामैना, पर्वतको जलजला र मुगुको छायाँनाथ रारा क्षेत्रमा बाढी तथा सडक अवरोधका कारण स्थानीय प्रशासनले उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।

सडक विभाग र प्रहरीका अनुसार अवरुद्ध सडक खुलाउने प्रयास जारी रहे पनि निरन्तर वर्षा र पहिरो खस्ने क्रम नरोकिएकाले काममा कठिनाइ भइरहेको छ। प्रशासनले अत्यावश्यक कामबाहेक लामो दूरीको यात्रा नगर्न, पहिरो प्रभावित सडक र नदी किनारका क्षेत्रबाट टाढा रहन तथा यात्रा अघि सडकको अवस्थाबारे जानकारी लिएर मात्रै यात्रा गर्न सर्वसाधारणलाई आग्रह गरेको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर