गणेश नेपाली र कामनपाकी महिला नगर प्रहरीबीच घटनाअघि भएको संवाद सार्वजनिक

काठमाडौं । आत्मदाह प्रयासपछि उपचारका क्रममा निधन भएका राइड–सेयर चालक गणेश नेपाली र काठमाडौं महानगरपालिकाकी एक महिला नगर प्रहरीबीच घटनाअघि भएको भनाभनको संवाद सार्वजनिक भएको छ।

सार्वजनिक संवादमा पार्किङ गरिएको मोटरसाइकलमा ह्विल लक लगाउने विषयलाई लिएर गणेश नेपाली र नगर प्रहरीबीच केहीबेर विवाद भएको सुनिन्छ। संवादमा गणेशले आफू मोटरसाइकलमा बस्दाबस्दै ह्विल लक लगाइएको भन्दै आपत्ति जनाएका छन् भने नगर प्रहरीले निषेधित स्थानमा पार्किङ गरेपछि नियमअनुसार कारबाही गरिएको जवाफ दिएकी छन्।

सार्वजनिक भएको संवादअनुसार महिला नगर प्रहरीले “कहाँ जानुहुन्छ जानू” भन्दै गणेशलाई सम्बोधन गरेपछि गणेशले “किन?” भनेर प्रश्न गरेका छन्। त्यसपछि नगर प्रहरीले “किन भागेर आएको?” भनेकी छन्।

गणेशले “कहाँ रोक्या थियो भन्नु न?” भन्दै मोटरसाइकल कहाँ पार्किङ गरिएको थियो भन्ने जिज्ञासा राखेका छन्। जवाफमा नगर प्रहरीले “माथि रोक्याथ्यो” भनेकी छन्।

त्यसपछि गणेशले “बाइकमा बस्दा पनि लक लगाउँछ?” भन्दै असन्तुष्टि व्यक्त गरेका छन्। नगर प्रहरीले भने “भन्या नमान्ने? मिल्दैन भनेँ त मैले। के गर्नुहुन्छ भनेर किन भन्नुभयो?” भन्दै नियम उल्लंघन भएको दाबी गरेकी छन्।

संवादका क्रममा गणेशले “म हिँड्न लागेको…” भनेका छन् भने नगर प्रहरीले “मेरो मोबाइल झारेर किन भागेर आएको?” भन्दै अर्को आरोप लगाएकी छन्।

त्यसपछि गणेशले “तपाईंले किन लक लगाएको त नि?” भन्दै प्रश्न गर्दा नगर प्रहरीले “नमिल्ने ठाउँमा रोकेपछि मैले लक नलगाए के लगाउनु?” भन्दै आफ्नो कदमको बचाउ गरेकी छन्।

अन्त्यतिर गणेशले “कोले?” भनेर सोध्दा नगर प्रहरीले “माला लाइदिने?” भन्ने जवाफ दिएको संवादमा सुनिन्छ।

उक्त संवाद सार्वजनिक भएपछि घटनाअघि दुवै पक्षबीच भएको व्यवहार र संवादलाई लिएर सामाजिक सञ्जालमा व्यापक चर्चा सुरु भएको छ। यो संवादको आधिकारिकताको पुष्टि हुन बाँकी नै छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर