१८ जनालाई भ्रष्टाचार मुद्दामा सफाइ

काठमाडौं । विशेष अदालतले नेपाल दूरसञ्चार कम्पनी लिमिटेडका तत्कालीन प्रबन्ध निर्देशक सुनिल पौडेलसहित १८ जनालाई भ्रष्टाचार मुद्दामा सफाइ दिएको छ।

विशेष अदालतका न्यायाधीशद्वय नारायण प्रसाद पौडेल र विदुर कोइरालाको इजलासले बिहीबार प्रतिवादी बनाइएका सबैलाई सफाइ दिएको हो। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल टेलिकमको बिलिङ सिस्टम अपग्रेड गर्ने कार्यमा ठुलो आर्थिक अनियमितता र मिलेमतो भएको दाबी गर्दै विशेष अदालतमा मुद्दा दर्ता गरेको थियो।

तत्कालीन प्रबन्ध निर्देशक पौडेलसहितका प्रतिवादीहरूले पदको दुरुपयोग गरी राज्यकोषमा ठुलो नोक्सानी पुर्‍याएको अख्तियारको आरोप लगाएको थियो। यस भ्रष्टाचार मुद्दामा संलग्न रहेका प्रतिवादीहरू विरुद्ध कुल ३३ करोड रुपैयाँ बिगो मागदाबी गर्दै कारबाहीको माग गरिएको थियो।

प्रतिवादीहरू सुनिल पौडेल, संगीता पहाडी भन्ने संगिता अर्याल, प्रतिभा वैद्य भन्ने प्रतिभा श्रेष्ठ, राजेन्द्र श्रेष्ठ, झविन्द्रलाल उपाध्याय, देवेन्द्र खतिवडा, विनिता श्रेष्ठ, अमुल प्रधान, राजीव कुमार के.सी, हेमप्रभा कर्ण भन्ने हेमप्रभा रामप्रताप कर्ण, नवल चौधरी, मुक्ति प्रसाद अर्याल, सन्तोष कुमार श्रेष्ठ, परमात्मा भट्टराई लगायतले सफाई पाएका हुन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर