मानिसको ज्यान लिने ध्रुबे हात्तीको दाह्रा काटिँदै
काठमाडौं । चितवन राष्ट्रिय निकुञ्जमा मानिसमाथि आक्रमण गर्दै आएको ध्रुवे हात्तीलाई नियन्त्रणमा लिएर दाह्रा काटेर छोटो बनाइने भएको छ। निकुञ्जले हात्तीलाई बेहोस बनाएर दाह्रा काट्नुका साथै नयाँ रेडियो कलर जडान गर्ने तयारी गरेको हो।
निकुञ्जका प्रमुख संरक्षण अधिकृत डिलबहादुर पुर्जा पुन का अनुसार ध्रुवेलाई नियन्त्रणमा लिन निरन्तर अनुगमन भइरहेको छ। हात्ती भेटिनासाथ ‘डार्ट’ गरी बेहोस बनाएर दाह्रा काट्ने र नयाँ रेडियो कलर लगाउने तयारी गरिएको छ।
ध्रुवे हात्तीले गत शनिबार राति भरतपुर महानगरपालिका–२३ मा २१ वर्षीया आशिका बोटे र उनका चार वर्षीय छोरा भरत बोटेको ज्यान लिएको थियो। उक्त घटनासहित ध्रुवेका कारण हालसम्म २५ जनाको मृत्यु भएको निकुञ्जले जनाएको छ।
घटनापछि ध्रुवे हात्तीको निगरानी बढाइएको छ। सोमबार साँझ मेघौलीको गोलाघाटस्थित सामुदायिक वनको गेटमा क्षति पुर्याएर स्थानीय दुई घरमा राखिएको अन्न खाएको थियो।
यसअघि लगाइएको रेडियो कलरले प्रभावकारी रूपमा सूचना दिन नसकेपछि नयाँ उपकरण जडान गर्न लागिएको हो। नयाँ रेडियो कलर जडान भएपछि हात्ती बस्ती प्रवेश गरेको सूचना तत्काल प्राप्त हुने र स्थानीयलाई समयमै सचेत गराउन सहज हुने निकुञ्जको भनाइ छ।
ध्रुवे हात्तीले यसअघि पनि पटक–पटक दाह्रा काटिएको र रेडियो कलर लगाइएको थियो। विसं २०७४ मा नेपाली सेनाका एक सेनानीको ज्यान लिएपछि केही समय शान्त रहेको ध्रुवेले करिब नौ वर्षपछि पुनः मानवीय क्षति पुर्याएको हो।
विसं २०६६ माघदेखि मानिसमाथि आक्रमण गर्न थालेको ध्रुवेले २०६९ सालसम्म १५ जनाको ज्यान लिएको थियो। २०६९ सालमा माडी क्षेत्रमा मात्रै एक महिनाको अवधिमा चार जनाको मृत्यु भएपछि स्थानीय प्रशासनले ध्रुवेलाई नियन्त्रण गर्ने निर्णय गरेको थियो।
चितवन राष्ट्रिय निकुञ्ज मा ध्रुवेसहित रोनाल्डो र गोविन्दे नामका जङ्गली भाले हात्ती रहेका छन्। निकुञ्जका अनुसार अहिले त्यहाँ ४५ देखि ५० वटासम्म जङ्गली हात्ती छन्। अन्य हात्तीले भने मानव बस्तीमा समस्या सिर्जना नगरेको निकुञ्जले जनाएको छ। निकुञ्ज, विपद् व्यवस्थापन समिति र अन्य सरोकारवाला निकायको सहकार्यमा ध्रुवे हात्तीले क्षति पुर्याएर आगलागी भएको घर पुनर्निर्माण गर्ने तयारीसमेत भइरहेको छ।
