फास्ट ट्रयाकको प्रारम्भिक विन्दु खोकना खण्डमै बन्ने निश्चित

काठमाडौं ।  लामो समयदेखि मुआब्जा र सांस्कृतिक विवादका कारण अल्झिएको काठमाडौं –तराई/मधेश द्रुतमार्ग (फास्ट ट्रयाक) को प्रारम्भिक विन्दु ललितपुरको खोकना खण्डमै बन्ने निश्चित भएको छ । पूर्वाधार विकास मन्त्रालय र राष्ट्रिय योजना आयोगका सदस्यको नेतृत्वमा रहेको प्राविधिक समितिले यस विवादित खण्डलाई दुई वटा प्याकेजमा विभाजन गरी ठेक्का प्रक्रिया अगाडि बढाउन नेपाली सेनालाई स्वीकृति दिएको छ ।

यो स्वीकृतिसँगै अब द्रुतमार्गको प्रस्थानविन्दु खोकना नै रहने निश्चित भएको छ भने विवादित क्षेत्रलाई टुक्रयाएर कम विवाद भएका ठाउँबाट निर्माण कार्य तत्काल सुरु गर्ने गरी पूर्वाधार विकास मन्त्रालय र राष्ट्रिय योजना आयोगले नेपाली सेनालाई ‘गो अहेड’ को अनुमति दिइसकेको छ । यो स्वीकृतिसँगै द्रुतमार्गको सुरुवाती रेखाङ्कन (एलाइन्मेन्ट) परिवर्तन नगरी पुरानै विन्दु खोकनाबाटै द्रुतमार्ग निर्माण हुने बाटो खुलेको हो ।

सिकाली मन्दिरलगायत स्थानीय धार्मिक तथा सांस्कृतिक सम्पदामा कुनै किसिमको असर नपर्ने गरी डिजाइन पुनः तयार गरिएको हो । स्थानीय समुदायले बर्सौंदेखि सञ्चालन गर्दै आएका धार्मिक तथा सांस्कृतिक गतिविधिमा अवरोध नपुग्ने गरी द्रुतमार्गको रेखाङ्कन निर्धारण गरिएको छ ।

सिकाली मन्दिर जोगाइ दिनुपर्‍यो भन्ने खोकनावासीको अनुरोधमा नेपाली सेनाले सिकाली मन्दिरको चौरसमेत जोगिने गरी सो ठाउँमा रेखाङ्कन नै परिवर्तन गरेको छ । पहिला द्रुतमार्गको रेखाङ्कन सिकाली मन्दिरनजिकबाट नै गरिएको थियो । अहिलेको नयाँ रेखाङ्कनले सिकाली मन्दिरलाई पूरा छलेको छ । त्यसैगरी कोदेश भन्ने क्षेत्रमा समेत बस्तीलाई असर नपर्ने गरी दु्तमार्गको काम अगाडि बढाउन स्थानीय वासिन्दाद्वारा गएिको अनुरोधलाई समेत नेपाली सेनाले पूरा गरेको अवस्था छ । स्थानीयवासीको अधिकांश मागलाई नेपाली सेनाले पहिले नै पूरा गरेको देखिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर