काठमाडौं उपत्यकामा बग्ने नदीहरूमा पनि आज बाढीको जोखिम
काठमाडौं । देशका केही नदी तथा खोलामा आज बाढीको सम्भावना छ । मध्यमदेखि भारी वर्षाको सम्भावना रहेका जिल्लाका नदी तथा खोलामा आकस्मिक बाढीको जोखिम रहेको हो । बाँके, बर्दिया, कैलाली, कञ्चनपुर, डडेलधुरा, बैतडी, बझाङ, अछाम, दैलेख, जाजरकोट, सुर्खेत र आसपासका जिल्ला भएर बग्ने नदी तथा खोलामा बाढीको जोखिम रहेको छ ।
काठमाडौं, भक्तपुर, ललितपुर, सखुवासभा, तेह्रथुम र आसपासका जिल्ला भएर बग्ने स–साना नदी तथा खोलामा पनि बहाव उल्लेख्य बढ्ने र आकस्मिक बाढीको मध्यम जोखिमको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
आज दिउँसो गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भूभागको केही स्थान तथा कोसी र वाग्मती प्रदेशका पहाडी भूभागका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्म वर्षाको सम्भावना छ ।
लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका थोरै स्थानमा तथा मधेस, कोसी, वाग्मती र गण्डकी प्रदेशका तराई भूभागका एकदुई स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ ।
राति गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराई भूभागका धेरै स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ । कोसी, मधेस र वाग्मती प्रदेशका पहाडी भूभागका केही, तराई भूभागका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ । गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी र तराई भूभागको एकदुई स्थानमा भारी वर्षाको सम्भावना छ ।
