दैलेखमा फोर्स गाडी दुर्घटना : कर्णाली नदीमा डुबेका १३ जनाको खोजी कार्य

काठमाडौं ।  दैलेखको चामुण्डाबिन्द्रासैनी नगरपालिका–७ अन्तर्गत कर्णाली राजमार्गको साङ्गेतडामा शुक्रबार दुर्घटना भएको फोर्स गाडीमा १४ जना यात्रु रहेको खुलेको छ । प्रदेश प्रहरी कार्यालय प्रमुख डिआईजी जयराज सापकोटाले दुर्घटना भएको गाडीमा १४ जना रहेकोमा १ जना फेला परेको बाँकी १३ जनाको खोजी कार्य भइहेको बताए ।

सुर्खेतबाट कालिकोटको रास्कोटतर्फ जाँदै गरेको कर्णाली प्रदेश ०२–००१ ख १०५५ नम्बरको फोर्स गाडी शुक्रबार बिहान करिब ११:३० बजे सडकबाट करिब ४०० मिटर तल खसेर कर्णाली नदीमा डुबेको हो । दुर्घटनाबारे टेलिफोनमार्फत सूचना प्राप्त हुनासाथ प्रहरी निरीक्षकको नेतृत्वमा उद्धार सामग्रीसहितको टोली घटनास्थलतर्फ परिचालन गरिएको थियो।

हाल घटनास्थलमा ३५ जना प्रहरी परिचालन गरी खोज तथा उद्धार कार्य तीव्र रूपमा सञ्चालन भइरहेको छ। दुर्घटनास्थल प्रहरी चौकी पाल्तडाबाट करिब ३ किलोमिटर तथा जिल्ला प्रहरी कार्यालय दैलेखबाट करिब ५० किलोमिटर पश्चिममा पर्छ। प्रभावकारी उद्धारका लागि नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालयका प्रमुख मुकुन्दप्रसाद रिजालको नेतृत्वमा गोताखोर टोलीसमेत घटनास्थलतर्फ गएको छ । गोताखोर टोली बाटामै रहेको प्रहरीले जनाएको छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर