अस्ट्रेलियाद्वारा भिसा आवेदन शुल्कमा उल्लेख्य वृद्धि
काठमाडौं । अस्ट्रेलिया सरकारले अन्तर्राष्ट्रिय विद्यार्थी र ग्राजुएटहरूलाई लक्षित गर्दै भिसा आवेदन शुल्कमा उल्लेख्य वृद्धि गरेको छ। संघीय सरकारको नयाँ नियम अनुसार परिमार्जित नयाँ शुल्क प्रणाली आजै (जुलाई १) देखि लागू भइसकेको छ।
नयाँ व्यवस्था अनुसार उच्च शिक्षा हासिल गरेपछि अस्ट्रेलियामै बसेर काम गर्न पाइने लोकप्रिय अस्थायी ग्राजुएट भिसा (Subclass 485) को आवेदन शुल्क ४ हजार ६०० डलरबाट बढाएर ५ हजार ७५० डलर (AUD 5,750) पुर्याइएको छ। यो साढे एघार सय अस्ट्रेलियन डलरको सीधा वृद्धि हो।
यसैगरी, नेपाललगायत विश्वभरका विद्यार्थीहरूले अस्ट्रेलिया अध्ययनका लागि आवेदन दिँदा प्रयोग गर्ने विद्यार्थी भिसा (Subclass 500) को शुल्क पनि २ हजार डलरबाट बढाएर २ हजार ५०० डलर (AUD 2,500) कायम गरिएको छ।
अस्ट्रेलिया सरकारले देशमा बढ्दै गएको आप्रवासीहरूको चाप नियन्त्रण गर्न र आफ्नो अध्यागमन नीतिलाई थप कडा बनाउने रणनीतिक योजना अन्तर्गत यो मूल्य बढाएको विश्लेषण गरिएको छ। बिना कुनै पूर्व सूचना अचानक गरिएको यस शुल्क वृद्धिले अस्ट्रेलियामा अध्ययन गरिरहेका र जाने तयारीमा रहेका हजारौँ नेपाली विद्यार्थीहरूको आर्थिक बजेट र योजनामा ठूलो असर पुग्ने निश्चित देखिएको छ।
