युरेनियमसम्बन्धमा सम्झौता चर्चा असत्य : मन्त्री खनाल
काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले मुस्ताङ जिल्लामा युरेनियम धातु उत्खननका लागि नेपाली सेना र अमेरिकी सेनाबीच सम्झौता भएको भन्ने चर्चामा कुनै सत्यता नभएको स्पष्ट पारेका छन्।
राष्ट्रिय सभाको बैठकमा सांसदहरूले उठाएका जिज्ञासाको जवाफ दिँदै उनले सो क्षेत्रमा खानी उत्खनन सम्बन्धमा कुनै पनि पक्षसँग कुनै प्रकारको सहमति वा सम्झौता नभएको जानकारी गराए।
मन्त्री खनालले केही डिजिटल सञ्चारमाध्यममा आएका यस्ता दाबीहरूलाई पूर्णतः आधारहीन भन्दै नेपाल सरकारका सम्बन्धित निकायहरूले यसअघि नै त्यसको खण्डन गरिसकेको उल्लेख गरे।
उनले भने, ‘मुस्ताङ जिल्लामा युरेनियम धातुको उत्खनन गर्न नेपाली सेना र अमेरिकी सेना बीच सम्झौता भएको भन्ने सार्वजनिक चर्चाको विषयमा कुनै सत्यता नभएको जानकारी गराउन चाहन्छु। यो क्षेत्रमा खानी उत्खनन सम्बन्धी कसैसँग कुनै प्रकारको सहमति र सम्झौता भएको छैन। यस सम्बन्धमा केही डिजिटल मिडियामा गरिएका आधारहीन दाबीको नेपाल सरकारका सम्बन्धित निकायले खण्डन समेत गरेका छन्।
परराष्ट्रमन्त्रीले नेपालको असंलग्न परराष्ट्र नीति र पञ्चशीलको सिद्धान्तमा प्रतिकूल असर पर्ने गरी कुनैपनि सम्झौता नगरिने प्रतिबद्धता समेत व्यक्त गरे।
उनले थपे, ‘नेपालको संविधान २०७२ को धारा २८९ को प्राकृतिक स्रोत तथा त्यसको उपयोग सम्बन्धमा भएको व्यवस्थाप्रति सरकार पूर्ण प्रतिवद्ध छ। त्यसैगरी नेपालले आफ्नो असंलग्न परराष्ट्र नीति र पञ्चशीलको सिद्धान्तको प्रतिकूल हुने गरी कुनै पनि सम्झौताहरू नगर्ने विषय स्पष्ट पार्न चाहन्छु।’
मुस्ताङमा खानी हुनसक्ने सम्भावनाबारे भएका प्रारम्भिक अध्ययनहरूले सकारात्मक संकेत गरे पनि यस विषयमा थप विस्तृत अध्ययन र अन्वेषण आवश्यक रहेको उनको भनाइ थियो। यस सम्बन्धमा खानी तथा भूगर्भ विभागले आवश्यक प्रक्रियाहरू अगाडि बढाउने समेत उनले स्पष्ट पारे।
भारतीय हेलिकप्टर प्रतिकूल मौसमका कारण नेपाली भूभागमा प्रवेश
परराष्ट्रमन्त्री खनालले भारतीय हेलिकप्टर नेपाली भूभागमा प्रतिकूल मौसमका कारण प्रवेश गरेको प्रस्टीकरण दिएका छन्।
राष्ट्रिय सभाको बैठकमा सांसदले राखेका मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नको उत्तर दिने क्रममा खनालले मौसम खराब भएपछि भारतीय हेलिकप्टर नेपालको दार्चुला जिल्लामा प्रवेश गरेको बताए। यस घटनामा भारतीय पक्षको कुनै नियोजित एवं गलत मनसाय भएको नपाइएको पनि बताए।
‘दार्चुला जिल्ला भारतीय हेलिकप्टर नियोजित एवं गलत मनशायले नेपाल नेपालको भूभाग प्रवेश गरेको नेदेखिएको र त्यस क्षेत्रको भौगोलिक अवस्थिति र मौसमको कारणले नेपाली भूभाग प्रवेश गरेको विषयमा नेपाली सम्बन्ध अधिकारीहरु र भारतीय पक्षबीच आवश्यक सम्पर्क र समन्वय भईरहेको छ,’ खनालले भने।
उनले नेपालको सुपारी निर्यातमा देखिएको समस्या समाधान गर्न पनि सरकारले पहल गरिरहेको बताए। ‘सुपारी निर्यातमा देखिएको समस्या समाधानका लागि पहल भइरहेको छ,’ खनालले भने, ‘नेपाली चियाको भारत निर्यातमा देखिएको समस्या र समाधान गर्न सरकारले निरन्तर पहल गरिरहेको सम्मानित सदनलाई अवगत नै छ।’
मन्त्री खनालले आफूले भारतसँग चिया निर्यातमा देखिएको समस्या समाधान गर्न सफल भएको दाबी गरे। ‘गत जेठमा मेरो भारत भ्रमणको क्रममा उच्चस्तरीय तहमा छलफल पनि भएको थियो। परिणामस्वरुप हाल यस समस्याको समाधान भई नेपाली चियाको भारत निर्यात सहज भएको कुरा जानकारी गराउन चाहन्छु,’ खनालले भने, ‘केही दिन अगाडि भारतले आफनो नीतिमा केही परिमार्जन गरेर हाम्रो निर्यातमा सहजीकरण भएको छ।’
मन्त्री खनालले सरकारले भारतसँगको निर्यात व्यायारमा देखिएको समस्या समाधानका लागि निरन्तर कूटनीतिक पहल गरिरहेको बताए। ‘भारतको विदेश मन्त्रालय, वाणिज्य तथा उद्योग मन्त्रालय, खाद्य सुरक्षा र भारतीय चिया बोर्डका उच्च अधिकारीहरुसँग परराष्ट्र मन्त्रालय र भारतस्थित नेपाली राजदूतावास संवादमा रही कूटनीतिक प्रयासलाई निरन्तरता दिइरहेको छ,’ उनले भने।
