दाउन्ने पश्चिम खण्डको निर्माणमा भएको त्रुटि सच्याइँदै
काठमाडौं । एसियन हाईवे (एशियन सडक सञ्जाल) को मापदण्डअनुसार विस्तार भइरहेको बुटवल–नारायणगढ सडक खण्डअन्तर्गत दाउन्ने पश्चिम खण्डको निर्माणमा गम्भीर प्राविधिक त्रुटि फेला परेपछि सुधारका लागि थप पहल थालिएको छ। आगामी २०८३ साल साउन ५ गतेभित्र निर्माण सम्पन्न गर्नुपर्ने अन्तिम समयसीमा नजिकिँदै गर्दा आयोजना कार्यालय र निर्माण कम्पनी ‘चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसन’ ले समस्या समाधानका लागि काम अघि बढाएका हुन्।
निर्माण कार्य अन्तिम चरणमा पुग्दै गर्दा कतिपय सडक खण्डमा तल्लो संरचना कमजोर भई दलदल बन्ने समस्या देखिएको छ। कालोपत्रे गरिएको सडकमा सवारी साधन उफ्रिने (जम्पिङ) समस्या बढेको छ, जसले दुर्घटनाको जोखिम समेत बढाएको छ। भौगोलिक जटिलता र प्राविधिक त्रुटिका कारण कतिपय स्थानमा प्रारम्भिक डिजाइन नै परिवर्तन गर्नुपर्ने अवस्था आएको छ।
ठुलो रकम भुक्तानी भइसके पनि सडकको अवस्था सन्तोषजनक नभएको भन्दै स्थानीयस्तरमा आलोचना भइरहेका बेला आयोजनाले काम सुधार्न दबाब बढाएको हो।
आयोजना कार्यालय (पश्चिम खण्ड) का प्रमुख पशुपति ज्ञवालीले सडकमा देखिएका प्राविधिक समस्या समाधान गर्दै कामको गुणस्तर सुधार्न निर्माण कम्पनीसँग निरन्तर छलफल भइरहेको जानकारी दिनुभयो।
दाउन्ने र आसपासको क्षेत्र नवलपरासी (बर्दघाट–सुस्ता पश्चिम) अन्तर्गत निर्वाचन क्षेत्र नं. १ मा पर्दछ। यस क्षेत्रका संघीय सांसद विक्रम खनालले सडकमा देखिएका सबै खाले त्रुटि तत्काल सुधार गरेर मात्र बाँकी काम अघि बढाउनुपर्नेमा जोड दिनुभएको छ।
आयोजना कार्यालयका अनुसार यो सडक खण्ड कुल ८ अर्ब ३१ करोड रुपियाँ लागतमा निर्माण सम्पन्न हुने सम्झौता छ। हालसम्म निर्माण कम्पनीले करिब ७ अर्ब ४३ करोड रुपियाँ (कुल बजेटको करिब ८९.४ प्रतिशत) भुक्तानी लिइसकेको छ।
आगामी साउन ५ गते निर्माण सम्पन्न गर्ने म्याद तोकिएको छ। यद्यपि म्याद सकिएपछि पनि निर्माण कम्पनी आफ्नो जिम्मेवारीबाट पूर्ण रूपमा मुक्त हुने छैन। सम्झौताअनुसार काम सम्पन्न भएको पहिलो वर्ष सडकमा आउने खराबीको निःशुल्क मर्मत कम्पनीले गर्नुपर्नेछ। त्यसपछि थप पाँच वर्षसम्म आफ्नै लागत र जिम्मेवारीमा मर्मत–सम्भार गर्नुपर्ने कानुनी व्यवस्था रहेको छ।
प्राविधिक रूपमा अत्यन्तै महत्त्वपूर्ण मानिएको यो व्यापारिक मार्गको दाउन्ने खण्डलाई सुरक्षित र गुणस्तरीय बनाउन अहिले सुधारको काम तीव्र पारिएको आयोजनाले जनाएको छ। दाउन्ने पश्चिमदेखि बुटवलसम्मको करिब ४८ किलोमिटर खण्डमा निर्माण कार्य भइरहेको छ।
