तराईका केही क्षेत्रमा तातो हावा चल्ने पूर्वानुमान
काठमाडौं । हाल कोशी, मधेस र बागमती प्रदेशका सम्पूर्ण क्षेत्र, गण्डकी प्रदेशका केही तथा लुम्बिनी प्रदेशको पूर्वी भेगमा मनसुनी वायुको प्रभाव रहेको छ। अन्य भागमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ।
जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशका हिमाली र पहाडी क्षेत्रमा सामान्यतया बदली रहेको छ भने तराईमा आंशिक बदली छ। बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी क्षेत्रका एकदुई स्थानमा मेघगर्जन तथा चट्याङसहित हल्का वर्षा भइरहेको छ।
आज दिउँसो देशका हिमाली र पहाडी भाग तथा कोशी प्रदेशको तराईमा सामान्यतया बदली रहनेछ। मधेस प्रदेश तथा बागमती र गण्डकी प्रदेशको तराईमा आंशिक बदली रहने तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराईमा मुख्यतया मौसम सफा रहने छ।
देशका हिमाली र पहाडी क्षेत्रका केही स्थानमा मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षा तथा उच्च हिमाली क्षेत्रमा हिमपातको सम्भावना छ। कोशी प्रदेशका तराईका तथा मधेस प्रदेशका केही स्थानमा, बागमती र गण्डकी प्रदेशका तराईका एकदुई स्थानमा मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ।
यसैगरी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका केही स्थानमा तातो हावा तथा बागमती र गण्डकी प्रदेशका तराईका केही स्थानमा तापक्रम बढ्ने सम्भावना रहेको महाशाखाले जनाएको छ।
