नाइजेरियामा भएको आक्रमणमा २० जनाको मृत्यु

काठमाडौं ।  नाइजेरियाको मध्य पठार राज्यको कावेल समुदायका बासिन्दालाई लक्षित गरी अज्ञात सशस्त्र व्यक्तिको समूहले आक्रमण गर्दा कम्तिमा २० जनाको मृत्यु भएको प्रहरीले मङ्गलबार जनाएको छ ।

पठार राज्यका प्रहरी प्रवक्ता अल्फ्रेड अलाबोलाई उदृत गर्दै सिन्ह्वाले आक्रमणकारीले बोकोस स्थानीय सरकारी क्षेत्रमा कावेल समुदायमा गोली चलाएर आक्रमण सुरु गरेको र घटनास्थलबाट भाग्नु अघि बासिन्दालाई धारिला हतियारले प्रहार गरी आक्रमण गरेको जनाएको छ ।

अलाबोले १८ जनाको घटनास्थलमै मृत्यु भएको पुष्टि गर्दै अन्य तीन जना घाइते भएको बताउनुभएको छ । घाइते मध्ये दुई जनाको पछि अस्पतालमा मृत्यु भएको उहाँले बताउनुभएको छ । आक्रमणको उद्देश्य अज्ञात रहेको र प्रहरीले घटनाको अनुसन्धान सुरु गरेको उहाँले बताउनुभएको छ ।

पठार राज्य नाइजेरियाको मध्य क्षेत्रमा अवस्थित छ, जुन देशको मुख्यतया मुस्लिम उत्तर र मुख्यतया इसाई दक्षिणलाई जोड्ने क्षेत्र हो । राज्यले हालका वर्षमा बारम्बार हिंसाको सामना गरेको छ, जसमा विभिन्न समुदायबिच भूमि र स्रोतमाथि विवाद हुने गरेको जनाइएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर