अमेरिका र इरानबीच सहमति : तेल बिक्री खुला
काठमाडौं । अमेरिका र इरानबीच स्विट्जरल्यान्डमा १८ घण्टा लामो गहन वार्तापछि ऐतिहासिक सहमति भएको छ। यस कूटनीतिक विकास क्रमअन्तर्गत अमेरिकाले इरानी तेल बिक्रीमा लगाएको प्रतिबन्ध अस्थायी रूपमा हटाउने निर्णय गरेको छ ।
यस्तै अमेरिकाले रोक्का राखिएको १२ अर्ब अमेरिकी डलर बराबरको कोष समेत फुकुवा गरिदिएको छ। यो कदमलाई दुई देशबीचको कूटनीतिक सम्बन्ध सुधार र जारी क्षेत्रीय तनाव कम गर्ने एउटा ठूलो र सकारात्मक उपलब्धिका रूपमा हेरिएको छ। अमेरिकी उपराष्ट्रपति जेडी भान्सले पनि वार्तामा उल्लेखनीय प्रगति भएको पुष्टि गरेका छन् ।
अमेरिकी अर्थमन्त्री स्कट बेसेन्टले सामाजिक सञ्जाल ‘एक्स’ मार्फत अमेरिकी अर्थ मन्त्रालयले इरानी तेलको उत्पादन, आपूर्ति र बिक्रीका लागि ६० दिने अस्थायी लाइसेन्स जारी गरेको जानकारी दिएका छन् । यस निर्णयसँगै आगामी २१ अगस्टसम्म इरानले आफ्नो तेल र पेट्रोलियमजन्य उत्पादन विश्व बजारमा खुला रूपमा बिक्री गर्न पाउनेछ।
यस अवधिमा अमेरिकी कम्पनीहरूले समेत इरानी तेल खरिद गर्न सक्नेछन् र त्यसको भुक्तानी अमेरिकी डलरमै प्राप्त हुनेछ। आवश्यकता हेरेर यो व्यवस्था २१ अगस्टपछि पुनः नवीकरण समेत हुन सक्ने बताइएको छ।
