दुबई नेपाली महावाणिज्य दूतावासको चेतावनीयुक्त सूचना
काठमाडौं । युनाइटेड अरब इमिरेट्स (यूएई) को दुबईस्थित नेपाली महावाणिज्य दूतावासले त्यहाँ रहेका नेपालीलाई कुनै पनि किसिमको प्रलोभनमा परी आफ्नो इमिरेट्स आईडी अन्य व्यक्तिलाई नदिन अनुरोध गरेको छ । आईडी दुरुपयोग भएका कारण नेपालीहरूले दुःख पाएपछि महावाणिज्य दूतावासले मंगलबार एक सूचना जारी गर्दै सो अनुरोध गरेको हो ।
“कुनै पनि किसिमको प्रलोभनमा परी आफ्नो इमिरेट्स आईडी जो कोही व्यक्तिलाई नदिनुहोला”, महावाणिज्य दूतावासले भनेको छ, “बैंकबाट पैसा मिलाइदिन्छु, भिसा लगाइदिन्छु, नेपाल पठाइदिन्छु भनी नेपाली नागरिकको इमिरेट्स आईडी अनधिकृत व्यक्तिले प्रयोग गरी बैंकबाट ऋण लिएर फसाइदिएको तथा सजिलै पैसा प्राप्त हुने प्रलोभनमा फसेका व्यक्तिका मुद्दाहरू अहिले पनि उल्लेख्य संख्यामा छन् ।”
नेपाली नागरिको नामको यूएई मोबाइल सिम/इमिरेट्स आईडी अरूले प्रयोग गरी फसाएको र यसरी फसेका/मुद्दा खेपिरहेका/जेल/जरिवाना सजाय भएका व्यक्तीलाई सहयोग गरिदिन भनी सम्बन्धित व्यक्ति/परिवारबाट निरन्तर अनुरोध आउने गरेको समेत महावाणिज्य दूतावासले जनाएको छ ।
