मेट्रो रेलका लागि आशयपत्र आह्वान
काठमाडौं । काठमाडौं उपत्यकाको ट्राफिक व्यवस्थापन सहज बनाउने उद्देश्यसहित अगाडि सारिएको मेट्रो रेल निर्माणका लागि विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार गर्न अन्तर्राष्ट्रिय परामर्शदाता कम्पनीसँग आशयपत्र (इआआई) आह्वान गरिएको छ ।
रेल विभागका महानिर्देशक हरिकुमार पोखरेलले नारायणगोपाल चोक–सातदोबाटो–रत्नपार्कको २७.५ किलोमिटरमा रेल गुडाउन अन्तर्राष्ट्रिय आशयपत्र आह्वान गरिएको जानकारी दिनुभयो । उहाँका अनुसार इच्छुक अन्तर्राष्ट्रिय कम्पनीले आगामी जेठ ३२ गते (१५ जुन २०२६) सम्म आफ्नो आशयपत्र पेस गरिसक्नुपर्ने छ । उहाँले नेपाल सरकारको ई–जिपी प्रणालीमार्फत अनलाइन आवेदन दिनुपर्ने व्यवस्था गरिएको जानकारीसमेत दिनुभयो ।
यसअघि काठमाडौं उपत्यकामा मेट्रो रेल सञ्चालनका लागि डिपिआर तयार गर्न २०७६ माघ ८ गते रेल विभाग र चीनको चाइना रेलवे सियुआन कम्पनी लिमिटेड तथा नेपालकै सिइएमएटी कन्सल्ट्यान्ट (संयुक्त) बिच सम्झौता भएको थियो । तर विभिन्न कारण त्यसबेला पूर्ण रूपमा डिपिआर तयार नभई ठेक्का सम्झौता तोडिएको महानिर्देशक पोखरेलले जानकारी दिनुभयो । अब छनोट हुने कम्पनीले डिपिआर तयार गर्ने उहाँले विश्वास व्यक्त गर्नुभयो ।
