देशका विभिन्न भू–भागमा आंशिक बदली र वर्षाको सम्भावना
काठमाडौं । आज देशका विभिन्न भू–भागमा आंशिक बदलीदेखि वर्षाको सम्भावना रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो कोशी प्रदेशलगायत बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भू–भाग तथा बाँकी हिमाली भू–भागमा साधारणतया बादल लाग्नेछ ।
मधेश प्रदेशलगायत लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भू–भागमा आंशिक बादल लाग्नेछ भने बाँकी तराईका भू–भागमा मुख्यतया सफा रहने महाशाखाले जनाएको छ । यस्तै, कोशी प्रदेशलगायत बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भू–भागका थोरै स्थानमा र बाँकी हिमाली तथा पहाडी भू–भागका एक–दुई स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षा–हिमपातको सम्भावना रहेको छ ।
आज मधेश प्रदेशलगायत, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू–भागका केही स्थानमा तातो दिन हुने सम्भावना रहेको जनाइएको छ । आज राति कोशी प्रदेशलगायत देशका हिमाली भू–भागमा साधारणतया बादल, पहाडी भू–भागमा आंशिक बादल लाग्नेछ भने तराई भू–भागमा मुख्यतया सफा रहनेछ ।
कोशी प्रदेशका थोरै स्थान, बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भू–भाग तथा कर्णाली प्रदेशका हिमाली भू–भागका एकदुई स्थानमा मेघगर्जन–चट्याङसहित हल्का वर्षा–हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
