अमेरिका र इरानबिच फेरि मिसाइल हानाहान

काठमाडौं ।  इरान र अमेरिकाबिचको तनाव फेरि बढेको छ। इरानले बुधबार कुवेत र बहराइनमा रहेका अमेरिकी अड्डाहरूमा क्षेप्यास्त्र र ड्रोन प्रहार गरेको हो। बदलामा अमेरिकी सेनाले क्वेसम टापु र इरानमा रहेका अन्य सैन्य अड्डामा आक्रमण गरेको छ।

अमेरिकी केन्द्रीय कमान्डले विज्ञप्तिमा भनेको छ, ‘इरानले हाम्रा छिमेकी देशहरूविरुद्ध धेरैवटा क्षेप्यास्त्र प्रहार गरेको छ। यद्यपि सबै आक्रमण असफल भए। कुवेतमा प्रहार गरिएका दुई क्षेप्यास्त्र कि आफ्नो लक्ष्यबाट विफल भए कि हावामै नष्ट भए। बहराइनमा प्रहार गरिएका तीन क्षेप्यास्त्रलाई अमेरिका र बहराइनको वायु रक्षा प्रणालीले रोके।’

विश्व बजारमा तेल महँगियो

मध्यपूर्वमा जारी तनावका कारण कच्चा तेलको मूल्य सोमबार बढे पनि अमेरिकी सेयर बजारले भने नयाँ रेकर्ड बनाउँदै अघि बढेको छ । तेलको मूल्य बढेपछि बजारमा प्रारम्भिक दबाब देखिए पनि अन्त्यमा लगानीकर्ताको आत्मविश्वास बलियो रहँदा प्रमुख सूचकांकहरू उकालो लागेका हुन् । एस एन्ड पी ५०० सूचकाङ्क ०.३ प्रतिशतले बढ्दै अघिल्लो दिनको कीर्तिमान तोड्न सफल भयो । त्यस्तै डाउ जोन्स औद्योगिक औसत ४६ अंक (०.१ प्रतिशत) ले बढ्यो भने न्यास्ड्याक कम्पोजिट पनि ०.४ प्रतिशतले उकालो लागेर नयाँ रेकर्ड कायम गर्‍यो ।

अमेरिका–इरानबीचको संघर्ष र युद्धविरामसम्बन्धी अनिश्चितताले ऊर्जा बजारमा असर पारेको छ । ब्रेन्ट कच्चा तेलको मूल्य करिब ४.२ प्रतिशतले बढेर प्रति ब्यारेल ९४.९८ डलर पुगेको छ । यो मूल्य अघिल्लो हप्ताको गिरावटको केही हिस्सा पुनः फिर्ता भएको हो ।

विश्लेषकहरूका अनुसार युद्ध सुरु हुनुअघि कच्चा तेलको मूल्य करिब ७० डलरको आसपास थियो, तर पछिल्लो तनावपछि मूल्य उच्च स्तरमै रहन थालेको छ । यसले विश्वव्यापी महँगी (मुद्रास्फीति) बढाउने दबाब सिर्जना गरेको छ, जसले ऋणको ब्याजदर र वित्तीय बजारमा पनि असर पारिरहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर