प्रवासी नेपालीको मतदान अधिकार सुनिश्चितसँगै नो भोटको व्यवस्था
काठमाडौं । विदेशमा रहेका नेपाली नागरिकलाई समेत मतदानको अधिकार प्रदान गर्ने व्यवस्था समेटिएको मतदाता नामावली (पहिलो संशोधन) विधेयक, २०८३ राष्ट्रियसभाबाट पारित भएको छ। राष्ट्रियसभाको आइतबार बसेको बैठकले प्रतिनिधिसभाबाट प्राप्त सन्देशसहित उक्त विधेयक बहुमतले पारित गरेको हो।
विधेयकमाथिको दफावार छलफलका क्रममा उठेका प्रश्नहरूको जवाफ दिँदै प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहको तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले मतदाता नामावली ऐन, २०७३ को दफा ४ को उपदफा २ मा रहेको व्यवस्था संशोधन गर्न विधेयक ल्याइएको जानकारी दिइन्।
मन्त्री गौतमका अनुसार संशोधित विधेयकले विदेशमा रहेका नेपाली नागरिकलाई पनि मताधिकार प्रयोग गर्ने कानुनी आधार तयार गरेको छ। साथै, निर्वाचनमा कुनै उम्मेदवार वा दललाई समर्थन नगर्ने मतदाताका लागि ‘नो भोट’ (None of the Above) को व्यवस्था समेत समावेश गरिएको छ।
विधेयक पारित भएसँगै प्रवासी नेपालीको मतदान अधिकार सुनिश्चित गर्ने तथा निर्वाचन प्रक्रियालाई थप समावेशी र लोकतान्त्रिक बनाउने दिशामा महत्वपूर्ण कदम चालिएको ठानिएको छ।
